नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको तीन दिनसम्म पनि शव उठेन

धनगढी, १२ असोज । नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको तीन दिनसम्म पनि आफन्तले शव उठाएका छैनन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन मानेन्न ।

शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो। महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन । बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दावी आफन्तले गरेका छन ।

आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएपछि शव मंगलबारसम्म पनि शव उठेन । सहमतिको लागि जिल्ला प्रशासनले प्रयास जारी राखेको जनाइएके छ ।

यता नवजीवन अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर जयराज केसीले सुत्केरी मल्लको उच्च रक्तस्रावका कारण मृत्यु भएको बताएका छन । अस्पतालका विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

सुत्केरी मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधिले अर्को घर खुलाइएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । त्यसपछि बच्चाको धड्कन कम हुँदै गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर शनिबार राति ११ बजेर ४४ मिनेटमा डेलिभरी गराइएको जनाइएको छ ।

त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउन प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाँका सिलाउने काम गरिएको, तर अत्यधिक रक्तस्रावका कारण बिरामीलाई कार्डियाक एरेस्ट भएर मृत्यु भएको दाबी अस्पतालको छ । चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ ।