जनगणना फाराममा थरको पछाडि थारू लेखाउ : थारु अगुवा

काठमाडौं, ५ असोज । राष्ट्रिय जनगणना २०७८ मा थारु समुदायले आफ्नो थरको पछाडि अनिवार्य रुपमा थारू लेखाउन थारू अगुवाहरुको सुझाब छ । सोमबार काठमाण्डौंमा थारूभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता विवषयक छलफल कार्यक्रममा अगुवाहरुले यस्तो दिएका हुन् ।

छलफलमा २०६८ सालको जनगणनामा थारू समुदायको सही तथ्यांक ल्याउन थरको पछाडी थारु लेखे वास्तविक तथ्यांक आउने सुझाब दिए । गणकहरुले घरदैलोमा फाराम लिएर आउँदा सबैलाई थरको पछाडि अनिवार्य ‘ थारू’ लेख्न अगुवाहरुको अनुरोध छ ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारूभित्र विभिन्न उपथर रहेको र सोअनुसार फाराम भर्दा थारु र गैरथारु छुट्याउन समस्या हुनेगरेको बताए । थारु समुदायले चौधरी लेखाउँदा मरवाडी र अन्य समुदायले पनि चौधरी लेखाउने गरेको उनले बताए । कुश्मी, बडायक, महतो, राजवंशी लगायतको थर लेख्दा थारूको यकिन तथ्यांक आउन समस्या हुने गरेको उनको भनाई रहेको थियो । यसपालीको जनगणनामा सबैले थरको पछाडि अनिवार्य थारू लेखाए थारूको एकिन लगत आउने उनले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमा थारू समुदायका अगुवाहरुले थारू बहुल प्रदेशमा थारूभाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न पनि माग गरेका छन् । भाषा आयोगका विज्ञ सल्लाहकार प्रा.डा. दानराज रेग्मीले भाषा नै पहिचानको आधार भएकाले भाषा सिफारिसप्रति सबै समुदायको चासो बढेको बताए । भाषा आयोगले प्रदेशस्तरमा भदौ २१ गते ११ वटा भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सरकारलाई सिफारिस गर्दा सबैको चासो देखिएको बताए ।