संविधान दिवसको अवसरमा सुदूरपश्चिमबाट २७ जना कैदीबन्दीको सजाय मिनाहा

धनगढी, ३ असोज । संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेशको कारागारबाट २७ जना कैदीबन्दीको सजाय मिनाह भएको छ । सजाय मिनाह हुनेमा कैलालीकारागारबाट ६ जना, बझांगबाट ४, बतैडीबाट १, कञ्चनपुरबाट ७, डडेल्धुराबाट ६ र अछाम कारागारबाट ३ जना कैदीबन्दीको सजाय मिनाह भएको हो ।

जिल्ला कारागार कैलालीका निमित्त जेलर तथा नासु बिरेन्द्र बहादुर बोहराका अनुसार सजाय मिनाहाका लागि दुई जना भारतीयसहित ९ जनाको नाम सिफारिस गरिएको थियो । जसमध्ये ६ जनाको सजाय मिनाहा गरिएको हो ।

सजाय मिनाहा हुनेमा कैलालीको (साविक बलिया गाविस) वडा नम्बर ८ की खेमा कुमारी अर्याल देवकोटा, लम्कीचुँहा नगरपालिका–९ का चक्र बहादुर चौधरी, गौरीगंगा नगरपालिका–६ का प्रेम सिंह साउँद र धनगढी उपमहानगरपालिका–८ का राम प्रसाद राना रहेका छन ।

यस्तै कञ्चनपुरका राहुल भनिने कृष्ण कुमार चौधरी र पर्वत जिल्लाका कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको कैलाली कारागारका निमित्त जेलर बोहराले जानकारी दिए ।

सजाय मिनाह मध्ये चक्र बहादुर चौधरी र प्रेम सिं साउँद सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । भने अन्य चारजना कर्तब्य ज्यान मुद्धा (हत्या) मा कैद सजाय भोगिरहेका थिए । उनीहरु ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको कैलाली कारागारका निमित्त जेलर बोहराले बताए ।

एक बर्ष कैद सजाय तोकिएकी देवकोटाले ६ महिना चार दिन, तीन बर्ष कैद सजाय तोकिएका चक्र बहादुर चौधरीले एक बर्ष ६ महिना दुई दिन, तीन बर्ष कैद सजाय तोकिएका प्रेम सिंह साउँदले एक बर्ष ६ महिना चार दिन र १२ बर्ष कैद सजाय तोकिएका राम प्रसाद रानाले ६ बर्ष एक महिना नौं दिन कैद भुक्तान गरे ।

यसैगरी २० बर्ष कैद सजाय तोकिएका कृष्ण कुमार चौधरीले ११ बर्ष ६ महिना २६ दिन र २० बर्ष कैद सजाय तोकिएका कृष्ण शर्मा तिवारीले १० बर्ष एक महिना ६ दिन कैद भुक्तान गरेका हुन् ।

जिल्ला कारागार कैलालीमा ३६ जना महिला, ३ जना आश्रित बालबालिका र ४५४ जना पुरुष गरी ४९३ जना कैदीबन्दी रहेको जिल्ला कारागार कैलालीले जनाएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई कैद सजाय माफी भएको हो ।

जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका– ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो। सबै गरी जप्रेलले ७ वर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए।

मष्टा गाउँपालिका – ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। खड्कालाई जिल्ला अदालत बझाङ बाट २ बर्ष कैद सजाय तोकेकोमा १ वर्ष १ महिना १० दिन जिल्ला कारागार बझाङमा रहेका हुन्।

त्यस्तै, बहुविवाहको मुद्दा लागेका केदारस्युँ गाउँपालिका – १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो। भण्डारीले १० महिना ५ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।

त्यस्तै, बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका– ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले खड्कालाई २ वर्ष कैद सजाय सुनाएको थियो। खड्का १ बर्ष २३ दिन जिल्ला कारागार बझाङमा रहेका थिए।

सर्बोच्च अदालत र जिल्ला अदालत बझाङबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछि आज ४ जना जिल्ला कारागार बझाङबाट छुटेका जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले जानकारी दिए।

संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक जनाको कैद सजाय मिनाह भएको छ । उनी कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल हुन् ।

विस २०७० साल साउन १ गते कर्तव्य ज्यान मुद्धामा जेल सजाय सुनाइएका दयालले ६६ प्रतिशत कैद भुक्तान (१३ वर्ष ४ महिना) कैद सजाय गरिएकोमा ८ वर्ष दुई महिना कैद भुक्तान गरिसकेका जेलर अनिल तिवारीले जानकारी दिए।

सोही अनुसार कञ्चनपुर कारागारमा रहेका ७ जनाको कैद मिनाह गरिएको छ। कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले जानकारी दिईन् । कैद मिनाह हुनेमा शिवराज भटट (कर्तव्य ज्यान मुद्धा), प्रेमसिंह भण्डारी (कर्तव्य ज्यान मुद्धा), रोहित आउजी (वहुविवाह), करिना विश्वकर्मा (वहुविवाह), माया चन्द पाल (वहुविवाह) र खुशीराम चौधरी (चोरी मुद्धा) रहेको छ । हाल कञ्चनपुर कारागारमा ४०७ जना कैदीबन्दी रहेका छन्।

अछाम कारागारबाट ३ जना कैदीबन्दीको सजाय मिनाह भएको कारागारले जनाएको छ । कैद मिनाह भएका अछाम जिल्ला पञ्चविनायक गाउापालिका १ का द्धारिका तिमिल्सेनो ताराताल ४ बर्दियाका जुना श्रेष्ठ र बाँकेका अर्जुन थापामगर रहेका छन् । द्धारिका र जुना बहुविबाह मुद्धमा कैद सजाय भोगिरहेका थिए । द्धारिकाको ३७ र जुनाको ४८ प्रतिशत सजाय बाँकी थियो । यस्तै अजुर्जन चोरी मुद्धामा कैद सजाय भोगिरहेका थिए उनको ३० बाँकी थियो ।

यस्तै डडेल्धुरा कारागारले ६ जना कैदीबन्दीलाई सजाय मिनाह गरेको छ । जसमा बहुबिबाहका २ र कर्तव्य ज्यानका ४ जना रहेका छन् । डडेल्धुरा कारागारका अनुसार सजाय मिनाह हुनेमा तीन महिला तीन जना पुरुष रहेका छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो।