चिसापानीदेखि गड्डाचौकी सम्मको राजमार्ग क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा

धनगढी, ३ असोज । कैलाली र कञ्चनपुरको राजमार्ग क्षेत्र सिसी क्यामेरा सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो।

सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले कैलाली कञ्चनपुरका १३८ ठाउँमा जडान गरेका सीसी क्यामराको विस्तृत जानकारी सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेललाई हस्तान्तरण गरे ।

मन्त्री जोशीले सीसी क्यामरा जडानले आपराधिक क्रियाकलाप नियन्त्रण, सवार दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न सहज हुने बताईन् ।