सुदूरपश्चिमको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ नियुक्त

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनु भएको छ । उनलाई प्रदेशप्रमुख गंगाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

लामा नेकपा (एस) कञ्चनपुरका अध्यक्ष हुन् । उनले यसअघि एमालेको प्रमुख सचेतक समेत भएका थिए । कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएको तामाङ आर्थिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

त्यसै गरि अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छन् । उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ ग्रहण गराए ।

सो अवसरमा सभामुख अर्जुनबहादुर थापा र प्रदेश सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एस) को संयुक्त सरकार रहेको छ । सो सरकारमा नेकपा (एस) सात र माओवादीका चार जना सहभागी छन् ।

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो ।