भाषा आयोगले राना समुदायकोे पहिचान मेटाउन खोजेको रानाथारुको आरोप
धनगढी, २७ भदौ । भाषा आयोगले कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको राना थारु समुदायको आरोप छ । भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै सो समुदायले आपत्ति जनाएको हो ।
नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले आज धनगढीमा पत्रकार सम्मेलन गरी आपत्ति भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रुपमा उल्लेख गर्नु पर्ने महासंघका अध्यक्ष कृपाराम रानाले बताए ।
आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।
‘आयोगले डोटेली र थारु भाषालाई कामकाजी भाषा मान्यता दिएकोमा हाम्रो कुनै आपत्ति छैन’, अध्यक्ष रानाले भने । ‘तर, त्यो संगै राना थारु समुदायको भाषा पनि समेटिनु पर्दछ ।’ राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको छ । आयोगको कदमविरुद्ध भोलि धनगढीमा प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।













