हराएको ३३ वर्षपछि लोकेन्द्र र परिवारबिच पुनर्मिलन
कैलाली, १७ भदौं । जानकी गाउँपालिका–७ का लोकुन (लोकेन्द्र) डगौरा थारु बेपत्ता भएको ३३ वर्ष पछि परिवारसंग पुनरमिलन भएको छ ।
लोकुन २९ वर्षीय उमेरमा रोजगारीको शिलशिलामा भारत गएका थिए। अहिले उनी ६२ वर्षको भएक छन् । रोजगाीको शिलशिलामा निस्केका उनी ३३ वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् परिवारले उनलाई खोज्ने धेरै प्रयास गर्यो। उनको अत्तोपत्तो लाग्न सकेन। कहिँकतै फेला नपरेपछि परिवारले उनीसँग भेट हुने आशा बमारिसकेको ३८ वर्षीय छोरा राम बहादुर डगौराले बताए ।
डगौरा भन्छन् ‘म ४÷५ वर्षको हुँदा बुवा हराएका हुन् । बुवाको अतोपतो नभएपछि आमा पनि दूई वटा बच्चा लिएर अर्कौ विबाह गर्नु भयो, मलाई काका काकीले हुर्काए ।’ बुवा भेटिनु हुन्छ भन्ने आशा पनि मारिसकेका थियो, बुवा सम्पर्कमा आउँदा एकदमै खुशी छौं ।
१२ वर्षमा खोला फर्किन्छ तर लोकुनको सवालमा उक्त खोला ३३ वर्षपछि फर्कियो। यहि भदौ ९ गते भारतको बिहारस्थित गयामा उनलाई भारतीय नागरिक संदिप यादवले फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार संदिपले लोकुनलाई सोधपुछ गरेर आफ्नो घरमा लगे। तर कैलाली घर बताउने लोकुन १० गते उनको घरबाट भागे। खोजी गरेर पुनः संदिपले आफ्नो घरमा लगेर राखे। लोकुनले घर नेपाल नै भएको बताएपछि संदिपले नेपाल प्रहरीमा सम्पर्क गरे।
नेपालको तर्फबाट प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न आग्रह गरेको कैलाली एसपी अधिकारीले बताए । उक्त जानकारीपछि सन्दिप यादवमार्फत लोकुनसँग (भिडियोकल) गरेको उनले बताए ।
लोकुन विगतका सबै कुरा बिर्सिसकेका थिए। तर उनले प्रहरी उपरीक्षक अधिकारीसँग आफ्नो घर टीकापुरको मनुवा आसपास हो सम्म भने । उक्त कुराकानीपछि कैलाली प्रहरीले टोली परिचालन गरी उनका आफन्त पत्ता लगायो ।
लोकुनको घर ठेगाना र आफन्त फेला परेपछि भारतीय प्रहरी र संदिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा झिकाइएको एसपी अधिकारीले जानकारी दिए । लोकुनका छोरा र जिल्ला प्रहरी कार्यालयको टोली पठाएर लोकुनलाई कैलालीमा ल्याइएको हो । लोकुनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरि परिवारको जिम्मा लगाएको छ ।













