हौसलपुरबासी भारतमै निर्भर
कैलाली, १६ । नेपाल भारतको थुप्रै सीमानामा दूई देशबिच चर्को विबाद भईरहेको सामाचार दैनिकी जसो नै सार्वजनिक भईरहेको हुन्छ । तर कैलालीमा यस्तो बस्ती छ, जहाँका बासिन्दालाई भारत नै आफ्नो पन भएको अभाष गर्छन् ।
कैलालीको कैलारी गाउँपालिका ७ हौसलपुरका बालबालिकाले भारतको राष्ट्रगान गाउँछन्। अधबैंसेहरू भारतमा मजदूरी गर्छन्। दैनिक आवश्यकताका वस्तु भारतबाटै ल्याउनुपर्छ। न विद्यालय छ, न स्वास्थ्य चौकी। उनीहरूलाई आफ्नै देश बिरानो छ।
मोहना नदीपारिको यो बस्ती भारतीय गाउँ बेलापरसुवासँगै जोडिएको छ। गाउँलाई रोडको सीमानाले छुट्याएको छ । कुन गाउँ नेपाली हो, कुन गाउँ भारतीय बाहिरबाट जानेलाई छुट्याउँन मुस्किल हुन्छ ।
हौसलपुर गाउँका भलमन्सा टीकाराम चौधरी भन्छन् ‘हामी गाउँ बासी एकदमै मिलेर बसेका छौं । एकले अर्कालाई खाना खाना बोलाउने, पुजापठा, भोज भटेर, काजक्रियामा दुबै गाउँबिच एकले अर्कोलाई सहयोग गर्ने गर्दछौं ।’ दूई गाउँबिच रोजीरोटीसंगै विबाह बन्धनको समेत सम्बन्ध जोडिएको भलमन्सा चौधरी बताउँछन् । उनी आफैपनि भारतीय गाउँ बेलापरसुवाका फूलमति चौधरीसंग विबाह गरेका छन् ।
चौधरीका अनुसार हौसलपुर गाउँका २८ घरधुरीमा करीब २०० जनाको बसोबास छ। यहाँ बासिन्दालाई नेपाली भाषा समेत बोल्न गाह्रो हुन्छ । नेपाली भाषा स्पष्टसंग बोल्न सक्ने एक जना मात्र छिन्। त्यसैले गाउँमा कोही नेपाली भाषी पुगिहाले राजेशनी चौधरी (२३) लाई नै खोज्नुपर्छ।
यहाँ विद्यालय, स्वास्थ्यचौकी लगायत कुनै पनि सरकारी कार्यालय छैनन्। स्वास्थ्योपचार र दैनिक किनमेल, रोजगारीका लागि एक किलोमिटर परको भारतीय बजार बेलापरसुवा नै जानुपर्छ।
उक्त गाउँमा मोटरसाईकल, टेक्टर सबै भारतीय नम्बर प्लेटको हुन्छ, जुन कारण त्यहाँका स्थानीयलाई भारतीय बजारबाटै रोजीरोटी चलाउन सहज भएको भल्मन्सा चौधरी बताउँछन् । यहाँका बालबालिका पढ्नका लागि पनि उतैका विद्यालय जान्छन्। उनीहरू हिन्दी भाषाको पाठ्यक्रम नै पढ्छन्।
यहाँबाट भारत पढ्न जाने विद्यार्थीको संख्या १०० भन्दा बढी छ। कक्षा ३ सम्म भारतको बेलापरसुवामै पढ्छन्। तर, त्यहाँभन्दा माथि पढ्न २५ किलोमिटर टाढा लखिनपुरको विद्यालय जानुपर्छ। केही विद्यार्थी उतै बसेर पढ्छन् भने, केही विद्यालयको बसमा आउने जाने गर्छन्।
घर र विद्यालयमा हिन्दी भाषा चल्छ। त्यसैले यहाँका स्थानीय मातृभाषा कठरिया थारू र हिन्दी भाषा बोल्छन्। नेपाली भाषा जान्दैनन्। भारतमा पढ्ने बालबालिका मातृभाषाभन्दा हिन्दी बोल्न सहज मान्छन्।
नेपाली भाषा बुझ्ने राजेशनी भने यो गाउँमा जन्मिएकी होइनन्। उनी चार वर्षअघि बिहे गरेर हौसलपुर गाउँ आएकी हुन्। टीकापुर बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्दा उनले जागुराम कठरियासँग भागी विवाह गरेकी हुन्।
हौसलपुर गाउँ कैलारी गाउँपालिकाको कार्यालय हसुलियाबाट १० किलोमिटरको दूरीमा छ। वडा कार्यालय पनि १० किलोमिटर उत्तर वसन्तमा पर्छ। हसुलिया र वसन्त मोहना नदीपारि पर्ने हुनाले त्यहाँका स्थानीय त्यता सहजै पुग्दैनन्।
सोही गाउँका स्थानीय श्याम कठरीया मोहना तरेर पारि आफ्नै देशतिर जाने काम खासै नपर्ने बताउँछन्। उनी भन्छन्, ‘वर्षामा जान सकिँदैन, अरू बेला जाने काम नै पर्दैन।’ गाउँमा झैझगडा हुँदा भलमन्साले नै मिलाउने गर्छन्।
आफूहरूले लालपुर्जा पनि नपाएको श्याम बताउँछन्। उनी भन्छन्, ‘करीब २०० मिटरको दूरीमा रहेको भारतीय बजार यहाँ बस्नेहरूको सुखदुःखको साथी हो। वर्षाका पाँच महीना मोहना नदी तरेर पारि नेपालतिर जान सकिँदैन। उपचार, शिक्षा, रोजगारी र किनमेल सबै भारतमै निर्भर हुनुपर्छ। यति सम्म कि भोज विबाह पनि यहि एक अर्का गाउँबाट भइरहेको छ ।’
कैलारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल चौधरीका अनुसार हौसलपुर बासीलाई नेपाली भाषा बोल्न सिकाउन वडा कार्यालयबाट निशुल्क भाषा कक्षा सञ्चालन गरको बताए । कक्षा सञ्चालन पश्चात यहाँका स्थानीयहरुलाई नेपाली बुझ्न अलि सहज भएको हो ।
हौसलपुर बासीलाई गाउँपालिकासंग जोड्न स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन समेत गरेको छ । नेतृत्व विकास सम्बन्धि तालिम, विजुली बत्ति, बाटो लगायत सुरक्षित अवास घर भनेर भवन समेत निर्माण गरिसकेको अध्यक्ष चौधरी बताए ।
उनले यहाँका बासिन्दालाई गाउँपालिका सम्म आउन सहज होस् भनि झोलुंगे पुल निर्माणको लागि डिपिआर भईसकेको जानकारी दिए । पछिल्लो दूई वर्ष यता हौसलपुर गाउँका अगुवाहरु गाउँको विकासको लागि वडा कार्यालयमै आएर योजना माग गर्न सक्ने भएको वडा अध्यक्ष चौधरी बताउँछन् ।













