महिलाहरु नै मिलेर असाहाय महिलाहरुको दहासंस्कार गर्दै
कैलाली १३ भदौं । नेपाली समाजमा कसैको मृत्यू भएपछि महिलाहरुलाई शव व्यवस्थापना तथा दागबत्ति गर्नबाट रोक लगाईन्छ । तर दृष्टी फाउण्डेसनमा आश्रित महिलाहरुले यहाँ मृत्यू भएका सबैको मलामी, दागबत्ति र काजक्रिया आफै गर्ने गरेका छन् ।
फाउन्डेसनको सारथी कल्पना भट्टको नेतृत्वमा असाहय र वेसहारालाई सहारा दिदै आएको दृष्टि फाउण्डेसनले हाल सम्म ११ जना महिलाहरुको शबलाई आफैले दहासंस्कार गरिसकेको छ ।
२०७२ साल असारमा स्थापना भएको सो फाउन्डेसनको सम्पूर्ण जिम्मेवारी भट्टले समालेकी छिन् । फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असाह्यहरुलाई आश्रय दिदै आएको हो ।
फाउन्डेसनमा आश्रय लिएकाहरुको औषधोपचार संगै मनोपरामर्शकर्ताहरुको सहयोगमा काउन्सिलिंग गर्दै आएको भट्ट बताउछिन् । साथै फाउण्डेसनको आश्रयालयमै ज्यान गुमाएकाहरुको अन्त्यष्टि फाउण्डेसन भित्रैका महिलाहरुले दागबत्ती दिदै क्रिया समेत बस्दै आएका छन् ।
भट्टले भनिन् ‘२०७३ मंसिरमा ७ गतेका दिन एक जना महिलाको ज्यान गयो, हामी पहिलो पटक मलामी गएर दागबत्ति दियो । त्यो बेला चिता बनाउँन नजानेर दूई पटक भट्कियो, तेस्रो पटकमा शब जलाउन सफल भयो ।’
उनी पहिलो पटक क्रिया बसेको घट्ना सम्झिदै भनिन् ‘त्यो बेला समाजले पनि धेरै टिकाटिप्पणी गर्यो, एकदमै डर लागेको थियो, तर आज भोली केही लाग्दैन ।’
फाउन्डेसनको काम देखेर अहिले धेरैले स्याबसी दिने, सहयोगमा हातेमालो गर्ने र सुदूरपश्चिमकै नक्षेत्र हौं भन्दै सहास दिदा एकदमै खुशी भएको भट्ट बताउँछिन् ।
फाउन्डेसन स्थापना भएको पाँच वर्ष पुगिसक्दा समेत निश्चित आर्थिक स्रोत केही छैन । विभिन्न संघ संस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट फाउन्डेसन सञ्चालनमा छ । यहाँ ३४ जना महिला, ११ जना बच्चा गरि ४५ जना बेसाहाराहरु आश्रय पाएका छन् ।
भट्टका अनुसार यी ११ जना बच्चा तिनै आमाहरुले नै जन्माएका हुन् । ४ वटा बच्चा आमासंगै उद्धार भएका हुन् भने, ७ जना बच्चा फान्डेसनमै आएर जन्मिएका हुन् । आश्रय लिएका मध्ये ३ जना महिला गर्भबति अवस्थामा छन् । ‘मानसिक रोगी पनि यही समाजका व्यक्ति हुन् । जसलाई यो समाजले बेघर बनाउँछ, बलात्कार गरेर सडकमा छोडीदिएपछि के गर्नु । हाम्रो ढोकामा आइसकेकालाई फर्काउन सकिन्न ।’
उनले भनिन् ‘एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न । रोगी हुन्छ । बेसाहरा हुन्छ । उ समाजको नरपिपासुहरुबाट पटक–पटक बलात्कृत हुन्छ । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उनीहरुको लागि धेरै गर्न नसकिएपनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउन लागि परेका छौ ।’
फाउनडेसनले शुरुवाटमा ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो । हालसम्मद दर्जनौं महिलाहरु पुनजीवन पाएर फर्किसकेका छन् ।













