टीकापुर विद्रोहको अवसरमा भदौं ८ गते आधा घण्टा ब्ल्याक आउट गर्ने
कैलाली, ६ भदौं । टीकापुर घटना भएको ६ वर्ष पुरा हुदैछ । सोही अवसरमा थारू कल्याणकारिणी सभा कैलाली र थरूहट मोर्चाको संयुक्त आयोजनामा भदौ ८ गते जिल्ला व्यापी आधा घण्टा सम्म बत्ती निभाउने (ब्ल्याक आउट) गर्ने मोर्चाका जिल्ला संयोजक माधब थारुले जानकारी दिए ।
आयोजक समितिले भदौं ७ गते टीकापुर विद्रोह दिवस मनाउँदैछ । सोही अवसरमा कैलालीको बलिया चौकदेखि भल्का चौकसम्म दिउँसो १२:०० बजे ¥याली सहित कार्यक्रमको आयोजना गरेको छ ।
संयोजक थारूले कार्यक्रम भब्यता साथ सफल पार्नका लागि विभिन्न समिति पनि गठन भएको जनाए । उनले भदौं ८ गते साझ ८ बजे देखि ८ः३० बजे आधा घण्टा जिल्ला व्यापी बत्ती निभाउने (ब्ल्याक आउट) गर्न सम्पूर्ण अपिल समेत गरे ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन बिहान कर्फयू जारी भएको समयमा ८० भन्दा बढी थारु समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो ।
सोही घटनामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् । यता मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा विभिन्न कार्यक्रमको आयोजना गरि तेस्रो चरणको आन्दोलन घोषणा गरि विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।













