कैलालीमा एक्लिए रेशम चौधरी

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भई नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएसँगै निलम्बित सांसद रेशम चौधरी गृह जिल्लामा एक्लिएका छन्।

ठाकुरले लोसपा नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले आयोगमा बुझाएको केन्द्रीय सदस्यको सूचीमा चौधरीको पनि नाम छ। यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि चौधरीको नाम आफ्ना केन्द्रीय सदस्यको सूचीमा राखेका थिए।

आयोगले जसपाको आधिकारिकता टुंग्याउन सनाखत गर्दा तटस्थ बसेका चौधरीको मन्जुरीनामा पत्र ठाकुर पक्षले आयोगमा बुझाएको छ। उनी ठाकुर पक्षमा लागेसँगै गृह जिल्लामा भने नेता तथा कार्यकर्ताले साथ छोडेका छन्।

उनको गृह जिल्ला कैलालीका अधिकांश नेता तथा कार्यकर्ता यादव नेतृत्वको जसपामै बसेका छन्। सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानाले संस्थापन पक्षलाई नै रोजेको बताए।

प्रमुख सचेतक रानाले भनिन्, “माननीय रेशम चौधरी केही दिन अगाडि आफू तटस्थ बसे र हामीलाई पनि तटस्थ बस्न सुझाव दिएका थिए। तर, मैले तटस्थ नबसी आधिकारिक पार्टीतर्फ जाने जानकारी दिएकी थिएँ।”

अहिले आफूले जसपालाई नै रोजेको उनले बताइन्। “रेशम चौधरीले ठाकुरलाई रोजे, तर म आधिकारिकतर्फ नै छु। जो आधिकारिक हुन्थ्यो, त्यतै जान्थें। मैले व्यक्ति हेरेको होइन, पार्टी हेरेकी हुँ,” रानाले भनिन्।

त्यस्तै, जसपाका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेका छन्। जसपा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका ३० जना केन्द्रीय सदस्यमध्ये अधिकांश आफूतिर रहेको र केही अझै खुल्न बाँकी रहेको बताए।

उनका अनुसार, अहिलेसम्म सुदूरपश्चिममा ठाकुरतर्फ रेशम चौधरी बाहेक फोनिराम चौधरी मात्रै देखिएका छन्। अरू सबै जसपामै रहेका छन्। हिमालखबरबाट