कैलारी गाउँपालिका–७ को वडा कार्यालय भवन र झोलुङ्गे पुलको उद्घाटन
कैलाली, ४ भदौं । कैलारी गाउँपालिका वडा नं. ७ को वडा कार्यालय र सोही वडाको कटैनी नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन भएको छ ।
कैलारी गाउँपालिका–७ बड्का बसन्तामा झोलुङ्गे पुल निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच आज झोलुङ्गे पुलको उद्घाटन गरे । १२० मिटर लामो सो पुल कैलारी गाउँपालिकाको ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

झोलुङ्गे पुल नहुँदा बड्का बसन्ता, बैजपुर, रतनपुर, नारायणपुर, मोहनपुर लगायतका गाउँका स्थानीयले खेप्दै आएका थिए । उनीहरुको समस्यालाई दृष्टिगत गरेर गाउँपालिकाको कार्यालयले झोलुङ्गे पुल निर्माण गरेको हो ।
सो पुल निर्माण भएसंगै काठेपुलबाट ओहोरदोहोर गर्नु पर्ने बाध्यता हटेको वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए । यसअघिसम्म स्थानीयवासी काठेपुलको भरमा ओहोरदोहोर गर्दै आएका थिए । बर्खामा बाढीले काठको पुल बगाउँदा आउजाउ नै ठप्प हुने गरेको थियो । यसैबीच, वडा नम्बर ७ वडा कार्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष चौधरीले वडा कार्यालय भवनको उद्घाटन गरे ।

कैलारी गाउँपालिकाको करिब ५८ लाख रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण गरिएको हो । वडा अध्यक्ष कमलप्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीसहित वडा सदस्य, स्थानीयवासी, वडाका कर्मचारीको उपस्थिति रहेको थियो ।













