सुदूरपश्चिममा भाइरल ज्वरो र खोकीका विरामी बढ्दै
कैलाली, ४ भदौ । सुदूरपश्चिम प्रदेशको अस्पतालहरुमा भाइरल ज्वरो र खोकीका विरामीको संख्या बढिरहेका छन् । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम तिब्र संख्यामा बढेको पाइएको छ।
कैलालीको सेती प्रादेशीक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० औंको संख्यामा भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
महाकाली प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठका अनुसार भाइरल ज्वरो बढे पनि कोरोना भने होइन, कोरोना संक्रमित पाँच जनाको उपचार भईरहेको छ ।
अस्पतालमा संक्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्य रुपमा चलिरहेको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको जनाइएको छ ।
यस्तै डोटी जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको संख्या ह्रावत्तै बढेको देखिन्छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।













