अष्टलक्ष्मी मुख्यमन्त्रीमा पहिलो महिला भएर ईतिहास रचिन

काठमाडौं, ३ भदौं । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन भएको छ । डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । उनी नेपालमा पहिलो पटक महिला मुख्यमन्त्री भएर ईतिहास रचेका छन् । बुधबार राति मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले लगत्तै पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमाले संसदीय दलको नेता चयन गरिएको थियो ।

देश संघीयतामा गएपछि बनेको प्रदेश सरकारमा महिला मन्त्री भएपनि मुख्यमन्त्री बनेका थिएनन् अर्थात यसअघि सातै प्रदेशमा पुरुष मुख्यमन्त्री बनेका थिए ।
एमाले विभाजन पछि विकसित राजनीतिक घटनाक्रमपछि शाक्यले मौका पाएकी हुन् । माधव नेपाल पक्ष मानिने उनी क्याम्प परिवर्तन गर्दै एमालेको संस्थापनतर्फबाटै मुख्यमन्त्री बन्न राजी भएकी हुन् ।