सुदूरपश्चिम प्रदेशले बाल अधिकार सम्वन्धि कार्यविधि तयार गर्ने

धनगढी, १ भदौं । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्वन्धि नियमावली र बाल सहभागिता सम्बन्धि कार्यविधि तयार गर्ने भएको छ ।

धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता कार्यविधि सम्वन्धी अन्तरक्रिया तथा सराकारवालाहरुको सुझाव संकलन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले यस्तो बताए ।

उनले प्रदेशमा बालबालिका सम्वन्धि नियमावली, कार्यविधि तथा केही नीतिहरु आवश्यक भएको बताए । उनले उक्त कार्यको लागि बाल अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुसँग समन्वय र सहकार्य करी कार्यबिधी तयार गर्ने बताए ।

मन्त्री खड्काले बाल सहभागीताको मस्यौदा कार्यविधि पेश गर्न नागरिक संजालको तर्फबाट कन्सोर्टियम नेपाललाई अनुरोध समेत गरे ।

बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म बालबालिका सम्वन्धी नियमावली र बाल सहभागीता सम्वन्धि कार्यविधी बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि नै बालबालिका ऐन जारी गरिसकेको छ ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले आफू बाल अधिकारका लागि बनेका बालक्लवको अनुभव सम्हालेर राजनीतिमा सक्रिय भइरहेको बताउदै बालअधिकारका क्षेत्रमा आवश्यक पर्ने नीति नियम बनाउन आफूले भूमिका खेल्ने बताइन ।

उनले बालअधिकार बारे गाउँदेखि शहरसम्म पर्याप्त जानकारी नभएको बताउदै बालअधिकार बारे जानकारी दिन र बालबालिकाको भविष्य राम्रो बनाउन नीति तय गरि बालक्लवहरुलाई सक्रिय बनाउन सहयोग गर्ने बताइन् ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले नियमावली, कार्यविधी लगायतका नीतिहरु निर्माणको लागि आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कन्सोर्टियम अध्यक्ष थापाले मन्त्री खड्का र राज्यमन्त्री साउदलाई बाल अधिकारका सवालमा केन्द्रित रहेर ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

सो कार्यक्रममा गैससका प्रतिनिधि, नागरिक समाज, विकास साझेदार संस्था, पत्रकार र बालक्लवका अगुवाहरुको सहभागिता थियो ।