निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन

धनगढी, १ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने माग राख्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन गरेकी छिन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाईन् ।

निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुख दर्शक बनेर बसेको उनले बताईन् । ‘निर्मलालाई न्याय देु , मेरो शरीर मेरो आधिकार’का प्ले कार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रर्दशन गरेकी हुन् ।

निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन्।

‘सरकार अहिले कानमा तेल हालेर बसेको छ, जब सम्म निर्मलाले न्याय पाउदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो। निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।