काठमाडौंको माईतीघर मण्डलमा थरुहटको मोर्चाको धर्ना

काठमाडौं, १ भदौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको छ ।

टीकापुर घटनाको ६ वर्ष पुगेको सन्दर्भमा थरुहट मोर्चाको केन्द्रीय संयोजन समितिको नेतृत्वमा धर्ना शुरू भएको हो। टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियान अन्तर्गत विरोधका कार्यक्रम शुरू गरिएको मोर्चाले जनाएको छ।

समानता, न्याय, अधिकारका लागि आन्दोलनमा उत्रिनुपरेको मोर्चाले जनाएको छ। उनीहरूले टीकापुर घटनाका राजबन्दीहरुलाईको रिहाई सगै सबै मुद्दा फिर्ता लिनुपर्ने, सरकारले गठन गरेको देवीराम शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्।

थरुहट आन्दोलनले उठाउँदै आएका माग र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने, संघीय संरचना निर्माणका क्रममा थारूबहुल जिल्लालाई समेटेर थरुहट थारुवान प्रदेश बनाइनुपर्ने, टीकापुर घटनालाई राजनीतिकरुपले समाधान गरि माननीय रेशम चौधरी लगायतको मुद्धा खारेजी गर्नुपर्ने जस्ता माग राख्दै विभिन्न चरणको आन्दोलन गरिसकेको मोर्चाको केन्द्रीय प्रवक्ता मिनराज थारुले बताए ।

उनले तेस्रो चरणको आन्दोलन गत साउन २५ गते काठमाडौंबाटै शुरु भएको जानकारी दिदै, भदौं ७ गते टीकापुर थरुहट थारुवान विद्रोह दिवसको अवसरमा सम्पूर्ण जिल्लाहरुमा विरोध सभा गर्ने र भदौं ८ र ९ गते प्रतिशोधकोरुपमा जनप्रर्दशन गर्ने कार्यक्रम रहेको बताए । फोटो हिमाल खबरबाट