बाँके निकुञ्जमा तीन सय ५८ वन्यजन्तु मारिए

बाँके, ३२ साउन । बाँके जिल्लाको निकुञ्ज भित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतिय धराप जस्तै खतरा भएको छ ।

बितेको सात वर्षको तथ्यांकलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको संख्या बढ्दो छ । तिब्र गती मा चलाइने सवारी साधनका कारण राजमार्गमा बन्यजन्तु मारीने क्रम रोकीएको छैन् ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र कोहलपुर–सुुर्खेत सडकखण्ड अन्तरगत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण गत सात बर्षमा सवारी दुर्घटनामा परि तीन सय ५८ वन्यजन्तु मारिएका छन् ।

आर्थिक वर्ष ०७७–०७८ मा मात्र महेन्द्र र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुलाई कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ ।

‘निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखीम बनेका छन्।’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भन्नुभयो ,‘तिव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन्’

राजमार्गमा यातायातका साधन तीब्र गतिमा गुड्ने भएकोले सडक वारपार गर्ने क्रममा बन्यजन्तु दुर्घटनामा पर्ने गरेको उनले बताए । यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सवैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातीका वन्यजन्तु रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको छ ।
सबैभन्दा बढी सडक दुर्घटनामा परि पूर्व–पश्चिम राजमार्गमा मारिने गरेको उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किलोमिटर निकुञ्ज भित्रको बन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा सडक दुर्घटनामा परि १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए । भने, उक्त आवमा कुकुरको टोकाई तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए ।

निकुञ्जका अनुसार, सडक दुर्घटनामा परि आर्थिक बर्ष ०७२–०७३ मा परि ४३ र कुकुरको टोकाईबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो । त्यसैगरि, आव ०७३–०७४ मा सडक दुर्घटनामा परि ६१ र कुकुरको टोकाईबाट सात तथा अन्य कारणले १५ वन्यजुन्तको मृत्य भएको थियो ।

यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको संख्या हरेक बर्ष बढ्दै गएको छ । आव ०७४–०७५ मा बढेर ७२ वटा वन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको थियो । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले ६ वटा वन्यजन्तुले ज्यान गुमाए ।

सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार, आव ०७५–०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले ९ वन्यजन्तुले ज्यान गुमाउनु परेको थियो । आव ०७६–०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परि मृत्यु भयो भने गत आवमा कुकुरको टोकाईबाट २५ वन्यजन्तुको मृत्यु मारीए । मेनका चौधरी, रासस