सुदूरपश्चिममा लागु औषध कारोबारी बढ्दै

कैलाली, ३१ साउन । कैलालीको टीकापुर नगरपालिका–६ नारायणपुरबाट असार १ गते लागु औषध खैरो हिरोइन सहित दूई जना पक्राउ परे । इलाका प्रहरी कार्यालय टीकापुरले सोही नगरपालिका –७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिँह सुनारलाई पक्राउ गरेको थियो ।

प्रहरीले स्थानीय कैलाश चौधरीको खोका पसल अघि बेञ्चमा कालो झोला लुकाएर राखेको अवस्थामा दुवैजनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाईयो । साउँद र सुनारका साथमा १४ ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद भएको थियो ।

यस्तै साउन १३ गतेका साँझ ५ बजे धनगढी उप–महानगरपालिका वडा नं. २ चौराहको सि.टि. होटलबाट धनगढी उप–महानगरपालिका वडा नं. १ का २८ बर्षीय सुरज पार्की ६ ग्राम लागुऔषध (हिरोईन) सहित पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टका अनुसार सो होटलमा लागु औषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा पार्कीलाई पक्राउ गरेको थियो ।

साउन १५ गते कञ्चनपुरबाट १९.९७ ग्राम लागु औषध (खैरो हेरोइन), दुई थान मोटरसाईकल र नगद सहित कञ्चनपुर प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, सोही ठाउँ बस्ने ३७ वर्षीय तपेन्द्र स्वाँर र भारत उत्तर प्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफ हुन् ।

लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बेदकोट नगरपालिका–३ शंकर ईट्टाभट्टा नजिकबाट पक्राउ परेका थिए ।

सोही दिन कैलालीको भजनी नगरपालिका ५ कौवाखेडा घाटबाट कैलाली प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित भारतको उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्रामपञ्चायत रणनगर गाउँ बस्ने २५ वर्षीय जितेन्द्र सिंह पनि पक्राउ परे । यूपी ३१ एएफ ८१६७ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।

यस्तै साउन २२ गते ४ सय मिलिग्राम ब्राउन सुगर सहित जिल्लाको गोदावरी नगरपालिकाका २२ वर्षिय रमेश विसि र २६ बर्षिया चन्दा विसि पनि पक्राउ परेका थिए । धनगढीको माया मेट्रो अस्पतालमा विरामी भेट्न गएका उनिहरुलाई शंकाको आधारमा चेँकजाँच गर्दा उनीहरु ब्राउन सुगर सहित पक्राउ परेका थिए ।

खुला सीमानाकाको फाइदा उठाउँदै कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट हरेक वर्ष सयौंको संख्यामा लागुऔषध सहित कारोबारीहरु पक्राउ परिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिएसपि भरत बहादुर चौधरीले बताए । उनका अनुसार सो नाकाबाट पक्राउ पर्ने नेपाली नागरिकसंगै भारतीय नागरिकहरुपनि उत्तिकै मात्रमा रहेको देखिन्छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक २०७७/०७८ मा २५४ वटा मुद्धा दर्ता छन् जसमा ३९२ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १० जना भारतीय नागरिक रहेको डिएसपी चौधरीले जानकारी दिए । यस्तै ०७६/०७७ मा १६२ वटा मुद्धा दर्ता भएको थियो जसमा २७० जनालाई पक्राउ गरिएको थियो ।

चौधरीका अनुसार २०७८ साउन १ देखि २८ गते सम्ममा मात्रै ३७ वटा मुद्धा दर्ता भईसकेको छ । जसमा ५९ जनालाई पक्रउ परेका छन् । २८ दिनमा ३७ ग्राम गाँजा, ६ किलो ३०३ ग्राम ७१ मिलिग्राम चरेश र १ सय २२ ग्राम ४६७ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। त्यसै गरि निट्राभेट ६४ ट्याबलेट, टप स्पास्मो ४ ट्याबलेट र टप प्रोक्सयोभोन प्लस २३७ ट्याबलेट बरामद गरिएको छ ।

प्रदेश प्रहरीका अनुसार बेरोजगार र विद्यालय छोडेका यूवाहरु साथीको लहलहैमा लागेर लागु औधष दुरव्यसनीमा सक्रिय हुने गरेको बताए ।