धनगढीमा गुरही अस्राईयो
धनगढी, २९ साउन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व धनगढीमा सामुहिकरुले अस्राइएको (सेलाउनु) छ ।
सखी सञ्जाल कैलाली र थारु राष्ट्यि कलाकार मञ्चको सयूक्त आयोजनामा थारु समुदायका यूवा यूवतिहरु गुरही चौकमा गुरही अस्राएका छन् ।
थारु समुदायले यो पर्वलाई वर्षको शुरुवातको रुपमा लिइने गर्दछन् । विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको छ ।
कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन लागेको आयोजकको भनाई छ ।
नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।
यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहेको छ ।













