प्रदेशको सञ्चार नीति असोज मसान्त भित्र ल्याउने : कानून मन्त्री जोशी
कैलाली, २८ साउन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले प्रदेशको सञ्चार नीति असोज मसान्त भित्र ल्याउने तयारी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको संयोजनमा भएको प्रदेश सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रमा उनले यस्तो बताएका हुन् ।
मन्त्री जोशीले पत्रकारहरुको हकहित, पेशागत तथा भौतिक सुरक्षा लगायत यहाँका मिडियालाई सम्बोधन हुने गरि मिडियामैत्री सञ्चार नीति ल्याउने बताए । नीति तयार पार्नु अधि सम्बन्धित विषयमा विज्ञहरुसंग पनि छलफल गरि सबैको सल्लाह र सुझाबलाई समेतेर नीति ल्याउने विश्वास दिलाए ।
यता सुदूरपश्चिम प्रदेशको प्रदेश सञ्चार नीति मिडियामैत्री हुनु पर्नेमा सहभागीहरुको जोड थियो । वरिष्ठ पत्रकार मनमोहन स्वाँरले प्रदेश सञ्चार नीति मिडियामैत्री ल्याउनु पर्ने सुझाब दिए । यसका साथै उनले प्रदेश सरकारले ल्याउने सञ्चार नीति मिडियालाई नियन्त्रण गर्ने हैन कि, नियमन गर्ने खालको नीति बनाउन आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाह प्रदेश सञ्चार नीति पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा सम्बोधन हुने खाल ल्याउनु पर्ने औंल्याए । यसका साथै उनले सञ्चारकर्मी तथा मिडियालाई प्रोत्साहन र प्रर्वद्धन गर्ने खालको नीति ल्याउन जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह अनाधिकृत रुपमा सञ्चालित अनलाईन मिडिया, यूट्यूब च्यानल तथा सामाजिक सञ्जाललाई नियमन गर्ने सञ्चार नीति बनाउन सुझाएका थिए ।

कार्यक्रममा कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेश सरकारले ल्याने सञ्चार नीति पत्रकारमैत्री मात्रै नभएर मिडियामैत्री ल्याउन जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी नेपाल बार एशोसिएशनका केन्द्रीय महासचिव लीलामणि पौडेल, मुख्य न्यायीधिवक्ता कुलानन्द पाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका मोहनदेव जोशी, पत्रकार दीलबहादुर छत्याल, शिवराज भट्ट, गोविन्द रोस्यारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मीन बम, नेपाल प्रेस यूनियन कैलाली अध्यक्ष श्रवण देउवा, प्रेस चौतारीका भानुभक्त आचार्य लगायत धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विकले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका थिए ।













