झुप्रोबाट महलमा सर्दै मुक्त कमैया

कैलाली, २३ साउन । झ्वाट हेर्दा कसैलाईपनि पत्यार लाग्दैन, कि यो घर एक मुक्त कमैया परिवारको हो । तर बास्तविक यहि हो । थोपा थोपा पसिनाले बनेको उक्त घरमा बस्ने पुरै परिवार अहिले अनान्दित जीवन विताईरहेका छन् ।

जन्मजातै अरुको घरमा बधुवा मजदुर भएर काम गरेका कालीचरण चौधरी आफ्नो ३ छोरालाई पढाई लेखाई गरि अहिले खुशीको जीवन विताईरहेका छन् । उनी अहिले घरकै सानो तिनो काममा मात्रै व्यस्त हुन्छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १२ मनेहरा मुक्त कमैया शिविरका ५० वर्षीय चौधरी साविक हसुलिया गाविस (कैलारी गाउँपालिका १ हसुलियाको एक शाहुको घरमा जन्मजातै कमैया बसेका थिए । उनको आमा बुवा त्यहाँ कमैया बस्दा कालीचरण गाई बाख्रा चराउने गरेको बताए । ठूलो भएपछि उनी पनि त्यहि घरमा कमैया बसे र विबाह गर्दा उनका श्रीमति कमलहरी बसिन् ।

शाहुले उनलाई १० धुर एलानी जमिन बस्नको लागि दिएको थियो, मुक्तिपछि कालीचरण आफ्नो परिवारलाई लिएर त्यहि ठाउँमा सानो झुप्रो बनाएर बसेको सुनाए ।
उनका ३ छोरा छन्, बच्चा पढाउन उनी २०६२ सालमा धनगढी आएर रिक्सा चलाउने गरेको कहानी सुनाउदै भने ‘अहिले जुन जमिन सरकारले दिएको छ, त्यहि जमिनमा सानो कच्ची घर थियो । त्यहि घरमा भाडा तिरेर बसे र रिक्सा चलाएको एक एक रुपैयाँ जमा गरेर ।

बच्चालाई बढाउन पनि सफल भए ।’ ‘ऐलानी जमिन भएकोले कित्ताकाट हुँदा घर बनाएर बसेको मान्छेको दूई ठाउँमा जमिन देखियो, जुन कारण भूमिसुधार कार्यालयले त्यो जग्गा सो व्यक्तिको नामबाट बडर गरेर मेरो नाममा लालपुर्जा मिलाई दियो ।’

अहिले उनको जेठो छोरा सुरेश चौधरी विजुली भण्डारमा जागिर गर्छन्, माईलो छोरा नरेश चौधरी मोवाईल ग्यालेरी खोलेका छन् भने कान्छो छोरा बैदेशीक रोजगारीमा छन् ।

काली चरण माईलो छोरासंग बस्छन् । नेपाल सरकारले कमैयाँ मुक्तिपछि सो शिविरमा बसोबास गरिरहेकालाई ३ कठ्ठाका दरले कित्ताकाट गरेको थियो । उनका तिनवटै छोरा व्यवस्थित भईसकेका छन् ।

माईलो छोरा नरेश चौधरी प्लस टु पढ्दै गर्दा घर नजिकैको छिमेकी साथी कुवेर रोकायाले आफ्नो पसलमा काम सिक्न आग्रह गरेका थिए । त्यहि साथीले उनको जिवनमा ठूलो परिवर्तन ल्याई दियो ।

नरेश भन्छन् ‘साथी पैसावालाको छोरो थियो, उ दिनभरि घुम्थ्यो, पसल सबै म नै हेरिदिन्थे । त्यहि बस्दा बस्दै कम्प्यूटर चलाउन सिके, मोबाई घडी बनाउन सिके । पछि त्यो साथी पुरै पसल नै मेरो जिम्मामा छोडेर बैदेशिक रोजगारीमा गयो ।’

उनले उक्त पसलमा समुहबाट ऋण लिकालेर समान थपे । अहिले दैनिक हजारौंको बिक्री भईरहेको बताउँछन् । उनको आयश्रोत त्यहि पसल मात्रै छ । दाईभाईबाट घर छुट्टिदा एक÷एक कठ्ठा जमिन भाग परेको छ ।

नरेश १० धुरमा घर बनाए र बाँकी १० धुरमा बाख्रा पालनको लागि खोर निर्माण गरे र बाख्रा पालनपनि गर्दै आएका छन् । मोबाईल ग्यालेरीबाटै अहिले उनी ठूलो प्रगति गरेका छन् । उनको परिवार एकदमै खुशी छन् ।

नरेशको श्रीमति रामति चौधरी टोलकै अगुवा जस्तै हुन् । टोलमा केही काम गर्नुपरे राजमतिको ठूलो भूमिका हुन्छ । अहिले उनी कमैया प्रथा उन्मूलन समाजको कार्यसमिति सदस्यपनि हुन् ।

यस्तै सोही बस्तीका ४५ वर्षीया रामकुमारी चौधरी पनि कमैयाँ मुक्ति भएदेखि नै बगुर पालन र तरकारी खे ितगर्दै आएको सुनाए । उनी भन्छन् ‘यहाँ अईली टे छुटुमुटु झोप्री किल रहे, भूमिसुधार के डेहल दूई ठो बंगुरके पाठा किल रहिट (यहाँ आउँदा सानो झुप्रो मात्रै थियो, भूमिसुधारले दिएको दूईवटा पाठा मात्रै थिए) । उनीहरु २०६७ सालमा आएकोले सरकारले २ कठठाका दरले मात्रै जग्गा दियो ।

रामकुमारी आफ्नो श्रीमानसंग मिलेर पहिलो वर्ष दूई कठ्ठामा तरकारी खेति गरेको सुनाईन । विस्तारै उनी जग्गा बन्दगी लिएर अहिले ६ कठ्ठामा तरकारी खेति गर्छिन् । उनको बंगुर फर्मपनि ठूलो छ । अहिले उनको मासिक अम्दानी ३० देखि ४० हजार सम्म हुन्छ । पुरै परिवार तरकारी खेतिमा नै आत्मनिर्भर छन् ।

रामकुमारी भन्छिन् ‘तरकारी खेति गरेर झुप्रोबाट सुधारिएको घरमा बस्न थाल्यो, टेक्टर किनेर एकदमै सजिलो भएको छ । मजदुरी गर्दा मेहनत पनि धेरै गर्नुपर्छ, पैसापनि समयमा पाइन्दैन । हामी तरकारी खेतिमा सन्तुष्त छौं ।’

उनको छोरा सञ्जय चौधरी एसईई सकेर विगत ५ वर्षदेखि हिरोहोन्डाको स्वरुममा मोटरसाईल बनाउने काम गर्छन् । भने कान्छो छोरा प्लस टु पढिरहेको सुनाए । सुखद् भविष्य बनाउन पढाईलाई अनिवार्य लिएको रामकुमारी भन्छिन् ‘हाम्रो मुक्त कमैया शिविरमा पढाईलाई निरन्तरता दिदैनन्, जुन कारण धेरैको छोराछोरी पुन कमैयाँ बन्ने अवस्था नआउला भन्न सकिन्दैन । त्यसैले सबै भन्दा महत्वपूर्ण पढाई नै हो ।’

पश्चिम तराईका पाँच जिल्लामा पुस्तौदेखि मालिकको घरमा कमैया बस्दै आएका कमैयाहरुलाई नेपाल सरकारले २०५७ साल साउन २ गते मुक्तिको घोषणा ग¥यो ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५ सय ९ घर मुक्त कमैयाहरु मुक्त घोषणा भएका थिए ।

अझै पुनःस्थापना हुन बाँकी

कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनर्स्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनःस्थापनाको कार्य अझै पनि टुंगिएको छैन । पुनःस्थापनाको जिम्मेवारी भने स्थानीय तहलाई दिइएपछि यो कार्य झनै अन्योल बनेको छ ।

कमैया मुक्ति घोषणा गरेको केही वर्षभित्रै सबैको पुनःस््थापना गरिने भनेर सरकारले विभिन्न समयमा लगत लिए पनि काम अझै बाँकी रहेको छ । साथै रोजगारी र जीविकोपार्जनको मुद्दा पनि जल्दोबल्दो छ ।

सरकारी तथ्यांक अनुसार कैलालीमा आठ हजार ९१० मुक्त कमैया परिवारले परिचय पत्र पाएका थिए जसमध्ये आर्थिक वर्ष २०७५/०७६ सम्म आठ हजार ५४६ परिवारको पुनःस्थापना भएको थियो । ३६४ परिवारको पुनःस्थापना हुन बाँकी थियो । सोे तथ्यांक हाल सम्म उस्तै छ । तर मुक्त कमैयाको क्षेत्रमा काम गर्ने कमैया प्रथा उन्मूलन समाज कैलालीका अध्यक्ष बसन्ती चौधरीका अनुसार परिचय पत्र पाएका १८७ र लालपुर्जा भएर पनि जग्गा नपाएका १९३ गरी ३८० परिवारको पुनःस्थापना हुन बाँकी छन् ।

पुनःस्थापनााको पर्खाइमा रहेका मुक्त कमैया कैलारी गाउँपालिकाको मिलनपुर, लम्कीचुहा नगरपालिकाको एकतानगर, टीकापुर नगरपालिकाको शिवनगर र गोदावरी नगरपालिकाको गेटा मेडिकल कलेज शिविरमा छन् । यसैगरी सम्पर्कमा नआएको भन्दै सरकारले १७३ जनाको परिचय पत्र बदर गरेको छ । बदर गरिएका परिचय पत्र सदर गरेर आफूहरूले सम्पूर्ण मुक्त कमैयाको यथाशीघ्र पुनःस्थापना हुनुपर्ने माग गर्दै आएको चौधरी बताईन् ।

उहाँले प्रदेश स्तरीय आयोग, जिल्ला स्तरीय समिति र स्थानीय तहमा संयन्त्र बनाएर पुनःस्थापनाको लागि वकालत गर्दै आईरहेको बताईन् ।

सरकारले मुक्त कमैयाको समस्या समाधान गर्न दुई पटकसम्म लगत लिएको थियो । यसैगरी पहिलो संविधान सभाका सभासद् हरि श्रीपाइलीको संयोजकत्वमा मुक्त कमैया, हलिया पुनःस्थापना गर्न उपसमिति पनि गठन गरिएको थियो । समितिले अध्ययन गरेर कमैया र हलियाको पुनःस्थापना गर्न २०६६ सालमै सरकारलाई प्रतिवेदन बुझाएको पनि राज्य गम्भीर नभएको श्रीपाइलीले बताउँदै आएका छन् ।