गृह मन्त्रालयको टोली घटना छानबिनको लागि दार्चुला पुग्यो

धनगढी, २० साउन । महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समिति दार्चुला पुगेको छ। गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति मंगलबार राति दार्चुला पुगेको हो।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।

टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ। दार्चुला पुगेको टोलीले मंगलबार राति के–कसरी जाने भन्ने विषयमा सामान्य छलफल मात्रै गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

साउन १५ गते व्यास गाउँपालिका वडा न.ं २ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्।