कर्णालीमा डुंगा पल्टिदा एक महिलाको मृत्यु, बेपत्ता तीनजना बेपत्ता

कैलाली, १७ साउन । कर्णाली नदीमा काठको डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका ३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली र सुर्खेतको सीमाना भएर बग्ने कर्णाली नदीमा आइतबार दिउँसो १२ तिर डुंगा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिव विष्टका अनुसार डुंगा पल्टिएर गम्भीर घाइते अवस्थामा रहेकी धनसराको मृत्यु भएको बताए । शनिबार राति परेको अविरल वर्षापछि कर्णाली नदीमा पानीको बढाव थियो ।

कैलालीको मोहन्याल गाउँपालिका ३ बाट गर्भ जाँच र बच्चालाई खोप लगाउनका लागि १० जना स्थानीय आइतबार सुर्खेतको चौकुने गाउँपालिका सम्म जानलाई कर्णालीमा काठको डुंगामा चढेका थिए । पानीको बहाव बढी भएकाले नदीको बीचमा पुगेपछि डुंगा पल्टिएको थियो।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुस्करराज पन्तले कैलालीको मोहन्याल गाउँपालिका ३ की २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनका नवजात शिशु र सोही वडाकी २० वर्षकी पार्वती थापा बेपत्ता भएको बताए ।

धनसराका घाइते छोरा १ महिनाका कर्ण सलामी मगरको अवस्था सामान्य रहेको प्रवक्ता विष्टले जनाए । पानीको तीब्र बेगका कारण काठको डुंगा पल्टिएको उनले बताए बेपत्ता भएकाहरुको खोजी काय जारी रहेको छ । डुंगामा १० जना मध्ये ५ जनाको भने सकुशल उद्धार भएको बताइएको छ ।

मोहन्याल ३ का नागरिक स्वास्थ्य उपचार, बालवालिकाको खोपका लागि सुर्खेत जाने गर्छन् । कैलालीको लम्की टिकापुर आउनु भन्दा उनीहरुलाई कर्णाली तरेपछि सुर्खेत नजिक पर्छ ।