कोभिड बिरुद्धको खोपलाई व्यवस्थित गर्न घरदैलो अभियान

धनगढी, ११ साउन । धनगढी उप–महानगरपालिकाले कोभिड खोप लगाउने कार्यलाई ब्यवस्थित गर्न घरदैलो अभियानमा जुटेको छ ।

अनलाईन नामदर्ताका लागि उप–महानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ । कोभिड खोप लगाउनबाट कोहि नछुटुन् भन्ने उदेश्यले घरमै पुगेर १८ बर्ष भन्दा माथिका सदस्यहरुको नामदर्ता गरिरहेको बताइएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले नामदर्ता पछि खोप लगाउने कार्य पनि व्यवस्थित हुने बताए । उप–महानगरपालिकाले साउन ६ गतेदेखि घरघरमा पुगेर अनलाईन नामदर्ता अभियान सुरु हो ।

‘अहिले ४० जना यूवा स्वयंसेवकहरु घरदैलो अभियानमा हरेक घरको उमेर पुगेका सदस्यहरुको नामदर्ता गरि रहेका छन् ।’

साउन मसान्तसम्म उप–महानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको छ । वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशीक अस्पताल, धनगढी उप–महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाईन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन् ।

अभियानमा धनगढी उप–महानगरपालिकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, यूएनडिपीको सहकार्य तथा साझेदारीमा सञ्चलन भईरहेको नगरपालिकाले जनाएको छ ।