स्वास्थ्यको सम्पूर्ण मापदण्ड पुरा गरि सामुहिकरुपमा गुरही मनाउने तयारी

धनगढी, ८ साउन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व धनगढीमा भब्यताका साथ मनाईने भएको छ ।

सखी सञ्जाल कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको छलफलले थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व सावन २९ गते धनगढीको गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइने भएको हो । विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाइने भएको हो ।

गत वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा ‘गुरही’ पर्व सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाएका थिए । कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाएका थिए ।

थारु अगुवाहरुले यस वर्ष पनि गुरही पर्वलाई स्वास्थ्यको सम्पूर्ण मापदण्ड पुरा गरि मनाउनु पर्नेमा सुझाएका थिए । छलफलमा थाकसका केन्द्रिय सदस्य प्रभात कुमार चौधरी, थाकस केन्द्रिय पार्षद पुरन चौधरी, थाकस जिल्ला सल्लाहकार जोहारीलाल चौधरी, थारु वुद्धिजिवी बुन्दीलाल चौधरी, थाकस कैलाली उपाध्यक्ष माधव चौधरी, तारानगरका भलमन्सा गोठुराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम संयोजक संगत चौधरी लगायत पत्रकार, कलाकारहरुको उपस्थिति रहेको थियो ।

थारु समुदायको चाडको शुरुवातको रुपमा गुरहीपर्व लाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।

थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।

यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहेको छ ।