पानी निकास गर्न बल प्रयोग, स्थानीय र प्रहरीबीच झडप
धनगढी, ५ साउन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच झडप झडप भएको छ।
उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकासकोलागि कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार स्थानीय र प्रहरी बीच ढुंगामुढा हुँदा ४ जना प्रहरी जवान र ६ जना स्थानीय घाइते भएका छन् । उनले सो क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए।
सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए।













