अनुगमन समितिद्वारा विभिन्न योजनाको अनुगमन

हसुलिया, २० असार । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको गाउँपालिका स्तरीय अनुगमन समितिले आज अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा नेतृत्वको अनुगमन टोलीले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालित छ वटा योजनाको अनुगमन भने वडा कार्यालयले अनुगमन गर्ने अनुगमन समितिका सदस्य सचिव एवम् योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।

समितिले वडा नम्बर ९ गदरियामा आठ लाखमा निर्माण भएको गदरिया अधुरो खानेपानी आयोजना, २० लाख रुपैयाँमा निर्माण भएको कल्भर्टको अनुगमन गरेको छ । यस्तै, २० लाख रुपैयाँ लागतमा निर्माण भएको सव डिभिजन वन कार्यालय बसन्ताको भवन, १५ लाख रुपैयाँ लागतमा निर्माण भएको कुकुरभुक्का–उजलीसेमर हुँदै टेढीसम्मको कृषि सडकको अनुगमन गरिएको छ । यस्तै, पवेरा मण्डीदेखि रतनपुरसम्मको सडक मर्मत आयोजना, कैलारीदेखि मोहनी बजारसम्मको सडक मर्मत आयोजनाको अनुगमन गरिएको छ । सबै योजनाहरु सम्पन्न भएको योजना शाखा प्रमुख चौधरीले बताए ।

अनुगमनमा समितिका सदस्यद्वय रञ्जिता चौधरी, खडकबहादुर साहु, योजना शाखा प्रमुख चौधरी र सव–इन्जिनीयर दीपकराज जोशी सहभागी थिए ।