सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न

कैलाली, १५ असार । सुदूरपश्चिम प्रदेशमा असार ११ गते सम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ। आज असार १५, अर्थात राष्ट्रिय धान दिवस देशभरि मनाउनै लाग्दा कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले यो वर्षको मनशुन समयमै शुरु भएकोले असार १५ सम्म ५० प्रतिशत रोपाई सम्पन्न भईसकेको अनुमान गरेको बताए ।

मानो रोपेर मुरि फलोस भन्ने उखान झै यो वर्ष निरनतर वर्षातसँगै किसानले धान रोपाइँको कार्यलाई समयमै सकिने भएकोले गत वर्षको भन्दा राम्रो उत्पादन हुने अपेक्षा लिएको प्रमुख जोशीले बताए । उनका अनुसार विगतका वर्ष भन्दा यो वर्ष प्राकृतिक सिचाईको कारण रोपाइँको कार्य छिटो हुन थालेको हो।

स्थानीय सरकार लगायत जिल्ला स्थित विभिन्न गैरसरकारी संघसंस्थाले साना किसानहरुलाई सिँचाइका लागि भरपर्दो व्यवस्था (कृषि औजार, तालिम, सिचाई व्यवस्था) गरिदिएकोले पनि किसानले रोपाइँको कार्यलाई समयमै अगाडि बढाउँदै आएका छन्। विगतको वर्षामा आकाशे पानीको भरमा रोपाइँ हुने भएकोले मनशुनलेपनि किसानहरुलाई साथ नदिएको जोशीले बताए ।

निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६(५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ।

यसै गरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेलधुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत)गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ।

सुदूरपश्चिममा धानको औसत वार्षिक उत्पादन ६ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पादकत्व ३.३ देखि ३.५ प्रतिशतसम्म रहेको निर्देनालयले जनाएको छ ।

कैलालीमा मात्रै ७० हजार ५२० हेक्टरमा धान खेती हुने गरेको छ । यस्तै कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा ९ हजार र दार्चुलामा ४ हजार ४८०, डडेलधुरामा ६ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ ।

सुदूरपश्चि प्रदेश धान खेतिकोलागि अति उत्तम मान्ने गरिएको छ । पछिल्लो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले पनि सिँचाइको सुविधा उपलब्ध गराएसैगै किसानले उन्नत जातका धानको बीउ, आधुनिक तरिकाले खेती गर्ने तरिकाबारे विभिन्न तालिम लगायतको कार्यक्रमले धान उत्पादनमा बृद्धि हुने निर्देशनालयले अपक्षा लिएको छ ।

सुदूरपश्चिममा अझैपनि केही किसानहरु परम्परागत तरिकाले खेती प्रवृति भने कायमै छ । किसानले आयातित धानको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले उचित मूल्य पाउनबाट भने वञ्चित छन् ।