एक सय ८७ ग्राम अवैध सुनसहित तीनजना पक्राउ
धनगढी,१४ असार । प्रहरीले धनगढी र अत्तरियामा गरी एक सय ८७ ग्राम अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले अत्तरिया बसपार्कबाट एक सय २० ग्राम अवैध सुनसहित डडेल्धुराको अमरगढी नगरपालिका–५, का सुरत घतानेलाई पक्राउ गरेको हो ।
धनगढी चौराहामा रहेको ओम शिवशक्ति सुनचाँदी पसल सञ्चालक सचिव सोवले अवैध सुनको कारोबार गरिरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा एक सय ८७ ग्राम ८८० मिलिग्राम अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त अवैध सुन ओम शिवशक्ति सुनचाँदी पसलबाट किनेको खुलेको प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए ।
उक्त सुनचाँदी पसल सञ्चालक सोवलाई पक्राउ गरी उनको कोठामा खानतलासी गर्दा थप ६७ ग्राम ८८० मिलिग्राम सुन बरामद भएको प्रहरी नायब उपरिक्षक बिष्टले जानकारी दिए । उक्त अवैध सुन धनगढी–३, बस्ने दिपेन्द्र बिकबाट १० लाख रुपैयाँमा खरिद गरेको खुलेकोले बिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त अवैध सुन कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन । बरामद भएको सुनसहित तीनै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













