कैलालीमा निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता लम्बियो

धनगढी, ७ असार । कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो ।

कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । बिहान ११ बजेसम्म सञ्चालन हुदैँ आएका कैलालीका पसलहरु अब दिउसो ३ बजेसम्म खुल्न पाईने भएको छ ।

आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले असार ८ गतेबाट अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

जसमा उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।यस्तै यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा (खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ । प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए ।