गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक

धनगढी, २ असार । कैलालीको गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । बर्खायाम सुरु भएसंगै नेपाल सरकारको निर्णय अनुसार नगरपालिकाभित्रका विभिन्न नदी तथा खोलावाट हुदै आएको नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै विगतका बर्ष झै यस बर्ष पनि अषाढ , साउन र भदौ गरी ३ महिना सम्म नगरपालिका क्षेत्रमा रहेको नदी तथा खोलाहरुवाट ढुगां , गिट्टी , बालुवा , ग्राभिल आदी नदीजन्य पदार्थको उत्खनन् र संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको जानकारी गराएको छ ।

यदी बन्दको समयमा नदीजन्य पदार्थ बोकेको ट्याक्टर भेटिएमा पहिलो पटक ६ हजार , टिप्पर भेटिएमा पहिलो पटक ८ हजार , स्काईभेटर जेसिबि भेटिएमा १० हजार र खोलामा गई थुप्रो बनाउने ब्यक्ति भेटिएमा १ सय रुपैया जरिवान गरिने सुचनामा उल्लेख गरिएको छ ।

दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानाको ५० प्रतिशत थप गरिने , तेस्रो पटक भेटिएमा पहिलो पटकको १०० प्रतिशत थप गरिने र फेरि चौथो पटक पनि भेटिएको खण्डमा गाडीलाई नै जफत गरिने भएको छ ।

यस्तै नदीजन्य पदार्थ बोकेको गाडी रातिको समयमा भेटिएमा ट्याक्टरलाई १२ हजार , टिप्परलाई १६ हजार र स्काईभेटर जेसिबीलाई २० हजार रुपैया जरिवाना गरिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीद्धारा हस्ताक्षित सुचनामा उल्लेख गरिएको छ ।