सुदूरपश्चिमको बजेट ३० अर्ब विनियोजन
कैलाली, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि रु. ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ।
मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा चालूतर्फ रु. १० अर्ब ६६ करोड ९ लाख, पुँजीगततर्फ रु. १७ अर्ब ६५ करोड ४० लाख, वित्तीय व्यवस्थातर्फ रु. ३० करोड र वित्तीय हस्तान्तरणतर्फ रु. १ अर्ब ७२ करोड ४५ लाख विनियोजना गरेको जानकारी दिए।
उनले कोभिड–१९ लगायतका महामारी नियन्त्रणका लागि ९० करोड रकम विनियोजन गरेको बताए। आगामी आर्थिक वर्षलाई अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा कार्यान्वयन गरिने उनले बताए। यस कार्यक्रमका लागि रु। २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको छ।
यस्तै सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगको लागि रु. २ करोड ५८ लाख बजेट बिनियोजन गरिएको छ। प्रदेशमा कर्मचारी भर्ना लगायतको लागि बजेट बिनियोजन गरिएको हो। आगामी अर्थिक वर्षको बजेटमा वादी समुदायको आर्यआर्जन वृद्धि गर्न तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रु। ३ करोड विनियोजन गरिएको छ।
प्रदेश सभा तथा विषयगत समितिको शौन्दर्य कायम गर्न १८ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा श्रृंगारपटार तथा प्रदेश सचिवालय व्यवस्थापन, प्रदेश सभाका विषयगत समितिको सुदृढीकरण, भौतिक स्रोत साधन सम्पन्न बनाउन यो रकम विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री शाहले बताए।
उनले बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको बताए। यसका लागि रु। ५ करोड विनियोजन गरिएको छ। यस्तै थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया लगायत जटिल रोगबाट प्रभावितको उपचारको लागि रु। १ करोड १ लाख विनियोजन गरिएको छ।
सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ। प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम ल्याइएको जनाइएको छ। प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर कैलालीका पाँच स्थानीय तहमा ५० हजार क्विन्टल धान खरीद गर्न रु. २ करोड ३० लाख विनियोजन गरेको छ।
जनआदोलन तथा शसस्त्र द्वन्द्वमा घाइते तथा शहीद परिवारको निःशुल्क उपचार गर्ने साथै द्वन्द्वपीडितका परिवारलाई आत्मनिर्भर बनाउन रु.१० करोड विनियोजन गरेको छ।
यस्तै, सुदूरपश्चिम हुँदै कैलाश मानसरोवर तीर्थयात्राका लागि मार्ग निर्माण गर्न रु.२० करोड ५० लाख विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक खेल मैदान’ कार्यक्रमका लागि रु. ३ करोड २० लाख विनियोजन गरेको छ। बजेटमा राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न रु। २ करोड ७२ लाख विनियोजन गरिएको छ।













