मनसुनको आगमनसँगै बाढीपहिरोको जोखिम बढ्ने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३० जेठ । मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय भएको छ। अहिले देशभर फैलिने क्रममा रहेको विभागले जनाएको छ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबान समेत हुनसक्ने विभागको आकलन छ। विभागले शनिबार विज्ञप्ति मार्फत मनसुनको अवधिभर आमसर्वसाधारण लगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

हावापानी प्रारूपका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ। त्यस्तै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिन मार्फत सूचना सम्प्रेषण गरिरहेका छन्। विभागले पनि मौसम र बाढी सम्बन्धी सूचना र बुलेटिन दैनिक रूपमा वेबसाइट र सामाजिक सञ्जाल मार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ। बाढीबाट डुबान हुनसक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेषण गर्दै आएको छ। (रासस)