भोकले कोही पनि नमरुन् भन्ने अभियान लिएर बर्दियामा खाद्य बैंक स्थापना
गुलरिया, २८ जेठ । हुनेले दिऊन् नहुनेले लैजाऊन् भन्ने हेतुले बर्दियामा खाद्य बैंक स्थापना भएको छ । कोभिड महामारीका बेला समुदायमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने अभियान लिएर खाद्य बैंक सुरु गरिएको हो ।
खाद्य बैंकमार्फत संकलित खाद्यान्न अभाव झेलिरहेका विपन्नलाई वितरण गरिएको छ । बर्दियामा अक्सिजन बैंकको सामाजिक अभियानले गति लिएसँगै खाद्य बैंक स्थापना गरिएको लायन्स क्लब अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्रले बताए। गुलरिया नगरपालिकाको समन्वय, सहयोग र सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लब अफ बर्दिया र एन्टा अमेरिकालगायतका सामाजिक संस्थहरूले बैंकमार्फत खाद्यान्न संकलन गर्ने अभियान चलाइएको हो।
‘दाल, चामल, पिठो, नुन, तेललगायतका अत्यावश्यक सामग्री खाद्यान्न अभाव खेपिरहेका वास्तविक परिवारलाई उपलब्ध गराउन यो अभियान सञ्चालन भएको हो ।
लकडाउनले प्रभावित भई खाद्यान्न अभाव खेपिरहेका पीडितहरूलाई बैंकमार्फत संकलित सहयोग वितरण गर्ने अभियानको उद्देश्य हो। बैंकमा खाद्यान्नका लागि सहयोग उपलब्ध गराउने क्रम जारी छ।













