कैलारीमा पहिलो दिन दुई सय २३ जनाले लगाए खोप

हसुलिया, २५ जेठ । कैलालीको कैलारी गाउँपालिकामा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो दिन २२३ जनाले भेरोसेलको पहिलो डोज खोप लगाएका छ्न ।

११८ पुरुष र १०५ जना महिला गरि २२३ जनाले भेरोसेलको पहिलो डोज खोप लगाएका हुन । रतनपुर स्वास्थ्य चौकी खोप केन्द्रबाट ३६ बसौटी खोप केन्द्रबाट १४, गदरिया खोप केन्द्रबाट २७, पवेरा हेल्थ पोष्टबाट ५०, हसुलिया खोप केन्द्रबाट सबैभन्दा बढी ९६ जनाले खोप लगाएका जनाइएको छ ।

६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिका लागि कैलारी गाउँपालिकालाई ५०० डोजमात्रै खोप प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । खोपको सो मात्रा गाउँपालिका खोप लगाउने उमेर समूहका व्यक्तिका लागि अपुग रहेको जनाइएको छ । ‘जतिलाई पुग्छ त्यतिलाई लगाउछौ’ सापकोटाले भने । ‘बाकीलाई पछि हुन्छ ।’

६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २५ देखि २७ गतेसम्म खोप लगाइदैछ । सुरुमा ६० देखि ६४ उमेर समूहलाई खोप लगाउने भनिए पनि कम डोज खोप प्राप्त भएका कारण स्वास्थ्य मन्त्रालयले निर्णय परिमार्जन गरेको थियो ।