सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कैलाली, २४ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री भट्टले आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। उनले सोमबार नै विश्वासको मत लिन खोजे पनि प्राविधिक कारणले सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालय पत्र दर्ता ४८ घण्टा पुग्नुपर्छ। त्यसले मंगलबार विश्वासको मत लिने जनाइएको छ।

भट्ट नेकपा ९एमाले०को समर्थनमा २०७४ मा मुख्यमन्त्री नियुक्त भएका थिए। १० जेठमा एमाले स्थायी समितिले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

एमाले सुदूरपश्चिम संसदीय दलले भने समर्थन यथावत राख्ने निर्णय गरेको छ। जसअनुसार, सरकारमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्रीहरूलाई हटाइएको छ भने माधवकुमार नेपाल पक्षका सांसदलाई मन्त्री बनाइएको छ। सुदूरपश्चिम संसदीय दलमा नेपालको पक्षको बहुमत रहेको छ।

५३ सदस्यीय प्रदेश सभामा अहिले ५२ सदस्य छन्। एमालेमा प्रवेश गरेका झपट बोहरालाई माओवादीले कारबाही गरेको थियो।

अहिले ५२ सदस्यमध्ये एमालेका २५ ९सभामुखसहित०, माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन्।

बहुमतका लागि २७ सदस्य चाहिन्छ। माओवादीका १३ जनामा मात्रै छन्। एमालेका २५ मध्ये नेपाल समूहका १५ जनाले सरकारको विश्वासको मतको पक्षमा मतदान गर्ने जनाएको छ।

माओवादी केन्द्रकी सांसद शान्ती नेपाली विश्वासको मतको पक्षमा २९ जनाले मतदान गर्ने देखिएको बताउँछिन्। उनी भन्छिन्, “हाम्रो पार्टीका १३ सांसद छौं, बाँकी एमालेका माननीयहरूले मतदान गर्नुहुन्छ।”

एमाले संसदीय दलको नेता र प्रमुख सचेतक नेपाल पक्षका छन्। उनीहरूले सरकारको विश्वासको पक्षमा मत दिन ह्विप जारी गरेमा ओली पक्षका सांसद अप्ठ्यारोमा पर्ने देखिएको छ। हिमालखबरबाट