मेयर वड एन्टिजेन किट र न्यानो स्वागत व्याग बोकेर टोल टोलमा

धनगढी, १७ जेठ । धनगढी उपमहानगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाएर कोरोना परीक्षणलाई निरन्तरता दिएको छ। कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एन्टिजेन र न्यानो स्वागत व्याग बोकेर नगर प्रमुख नृपबहादुर वड टोल टोलमा जाने गरेका छन्।

अहिले उपमहानगरपालिकाको परिसरमा रहेको स्वाव संकलन केन्द्र भन्दा टाढा रहेका वडाहरुमै गएर कोरोनाको परीक्षणलाई निरन्तरता दिएको हो।

धनगढीका टोल टोलमा एन्टिजेन किटमार्फत कोरोना परीक्षण भईरहेको नगर प्रमुख वडको भनाई छ। उनले नगरका नागरिकलाई ज्वरो आएमा, खोकी लागेमा र कोरोनाका लक्षण जस्ता संकेत देखिएमा तत्काल स्वाव संकलन र एन्टिजेन किटमार्फत परीक्षण लागि आउन समेत आग्रह गरे।

नगर प्रमुख वड टोल टोलमा पुगेर कोरोना र अन्य ज्वरो आएका विरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा समेत दिने गरेका छन्।

सोमवार मात्रै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा एन्टिजेन किटमार्फत टोल टोलमा परीक्षण गरिएको छ। २९ जना नागरिकमा गरिएको एन्टिजेन परीक्षणमा १ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको नगर प्रमुख वडले जानकारी दिए। सो वडाका नागरिकहरुलाई कोरोनाको जस्तो लक्षण देखिएको तर घरमै बसेकाहरुलाई एन्टिजेन परीक्षण गरिएको थियो।

धनगढी नगरपालिकाले २ दिन बाहेक अन्य दिन उपमहानगरपालिकाको परिसरमा रहेको स्वाव संकलन केन्द्रमा संकलनको कार्य भईरहेको छ। उपमहानगरपालिकाले भारतबाट नेपाल भित्रीने नेपालीहरुको एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको छ।

निषेधाज्ञा र कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेका र अन्य नागरिकलाई धनगढी उपमहानगरपालिको पहलमा वडा नम्बर १८ मा योग शिविर समेत सुरु गरेको छ। विश्व शान्ति महाअभियान अन्तर्गत वडा नम्बर १८ मा योग शिविर सुरु गएको हो। शिविरमा शान्ति दुत योग यात्री विष्णुले योग सिकाईरहेका छन्।