सीमावर्ती शिवरत्नपुर गाउँ बन्यो हट स्पट
हसुलिया, १५ जेठ । कैलालीको सीमावर्ती गाउँ शिवरत्नपुर कोरोना सङ्क्रमणको हट स्पट बनेको छ ।
कैलारी गाउँपालिक-३ मोहना नदी पारि पर्ने सो गाउँमा पछिल्लो समय बढी सङ्क्रमण फैलिएको पाइएको हो । गाउँका प्रायः मान्छे बिरामी परेपछि ४९ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको कोरोना विशेष अस्पताल बैजपुरमा कार्यरत स्वास्थ्यकर्मी कुसुम चौधरीले जानकारी दिए ।
‘सो गाउँभरि सङ्क्रमण फैलिएको छू, प्रत्येक घरघरमा मान्छे बिरामी परेका छन ।’ शिवरत्नपुरमा लक्षणसहितको कोरोना सङ्क्रमण फैलिएको जनाइएको छ ।
सो गाउँ नजिकै भारतीय बजार चन्दन चौकी रहेको छ । अरु गाउँभन्दा पर र छुट्टै रहेको शिवरत्नपुरका मान्छे चन्दन्चौकी बजार गएकै कारण लक्षणसहितको कोरोना सङ्क्रमण फैलिएको हुन सक्ने बताइएको छ । आजै सो गाउँमा गएर सङ्क्रमितको अवस्था बुझ्नुका साथै औषधि पनि वितरण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए ।
पछिल्लो समय सो गाउँपालिकाको वडा नम्बर ३ मा बढी सङ्क्रमित फेला परेका छन । बढी सङ्क्रमित फेला परेको शिवरत्नपुर र भडरी टीसीएन डाडामा एक पटक फेरि स्वाब सङ्कलन शिविर राखेर कोरोना जाँच गरिने वडा अध्यक्ष कैलाश चौधरीले बताए ।













