‘उच्च मनोबल नै कोरोना जित्ने ओखती हो’

कैलाली १५ जेठ । कोरोना जितेका धेरैको साझा बुझाइ ‘आत्मबल बलियो बनाए कोरोनालाई अवश्य जित्न सकिन्छ ।’
कोरोनाबाट च्वाट्टै छुटकारा दिलाउने औषधिको अहिलेसम्म विकास भइसकेको छैन । कोरोना विरुद्धको प्रतिरोधात्मक क्षमता बढाउने खोप भने विश्वका विभिन्न देशबाट उत्पादित भइ प्रयोगमा आइसकेको छ ।

रोग विशेष औषधि नबनिसकेको अवस्थामा उच्च मनोबल नै कोरोना जित्ने ओखती मानिएको बेला कैलालीको कैलारी गाउँपालिकाले संक्रमितको घरघरै पुगेर उनीहरुको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने अभियान नै सञ्चालन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवासहित जनप्रतिनिधि, पालिकाका कर्मचारीहरु संक्रमितहरुको घरमै गएर कोरोनासंग जित्न डाढस दिइरहेका छन् । त्यति मात्रै नभई, संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्न नदिन स्वास्थ्यकर्मीले लक्षण अनुसारको समस्या निदानका लागि निस्शुल्क औषधि समेत प्रदान गरिरहेको स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र सापकोटाले जानकारी दिए ।

‘संक्रमितहरुको मनोबल बढाउनका लागि उनीहरुको घरघरमै पुगेर भेटघाट गरिरहेका छौ’, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सापकोटाले भने । उनले एक दुई जना बाहेक सबैको अवस्था सामान्य रहेको बताए ।

पछिल्लो समय सो गाउँपालिकाको वडा नम्बर ३ मा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । सबै संक्रमितलाई घरघरमा पुगेर उनीहरुको अवस्था बुझिसकेको सो वडाका वडा अध्यक्ष कैलाश चौधरीले बताए ।

‘यस्तो अवस्थामा हामी घरघरमै गएर हालखबर बुझ्दा संक्रमित खुशी भए तर राजनीतिक दलको बुझाइ भने गलत पाइयो ।’

स्वास्थ्य मापदण्ड पूरा गरेर होम आइसोलेसनमा बसेका संक्रमितको घरमा अरुलाई कोरोना नसरेको पाइएको वडा अध्यक्ष चौधरीले बताए । मापदण्ड पूरा नगरेर बसेकाहरुको घरमा भने अरु सदस्यलाई पनि देखिएको बताए ।

समुदायस्तरमै संक्रमण फैलिएको कैलारीमा कोरोना भाइरस संक्रमणको चैन ब्रेक गर्नका लागि गाउँपलिकाले शंकास्पद व्यक्तिलाई परीक्षणको दायरामा ल्याउने कार्यलाई प्रायमिकता दिएको छ । हप्ताको दुई दिन बैजपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा स्वाब संकलन गरेर पीसीआर र बढी संक्रमण भएको गाउँमा एन्टिजेन विधिबाट परीक्षण गर्दै आइएको छ ।

यसैबीच, बैजपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबारदेखि बिरामीलाई अक्सिजन दिन सक्ने व्यवस्था समेत गरिएको छ । दुई वटा कन्सनट्रेटर र तीन वटा सिलिन्डर राखेर अक्सिजन दिनु पर्ने पाँच जना बिरामी राख्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए । हाल ‘दुई जना संक्रमित भर्ना गरेर उनीहरुलाई अक्सिजन दिएका छौं’, उनले भने ।

दोस्रो लहरमा सो गाउँपालिकामा हालसम्म १५१ जना संक्रमित निको भएका छ्न । सक्रिय संक्रमितको संख्या भने १९९ छ । जिल्ला प्रशासन कार्यलय कैलालीको तथ्यांक अनुसार कैलारी गाउँपालिकाका हालसम्म आठ जनाको कोरोनाका कारण निधन भएको छ ।