सुदूरपश्चिममा नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

कैलाली, १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त पाँच मन्त्री र चार राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार दिउसो तीन मन्त्रीले राजीनामा दिएलगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त गरिएको थियो। उनीहरूलाई शुक्रबार साँझ आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ खुवाइएको छ।

नवनियुक्त पाँच मन्त्रीमा प्रकाशबहादुर शाह आर्थिक मामिला तथा योजना, पूर्णा जोशी आन्तरिक मामिला तथा कानून, दीर्घ सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का सामाजिक विकास र मानबहादुर धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। शाह, जोशी, सोडारी र खड्का नेकपा (एमाले)का हुन् भने धामी नेकपा (माओवादी केन्द्र)का हुन्।

त्यस्तै, चुनदेवी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त गरिएको छ। चौधरीले भौतिक पूर्वाधार, साउँदले सामाजिक विकास, गहतराजले आर्थिक मामिला र सुनारले भूमि व्यवस्था, कृषि तथा सहकारीराज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

यसअघि प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका थिए। शाहले फेरि नियुक्ति पाएका छन्।

एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। माधवकुमार नेपालको बहुमत रहेको प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।