सुदूरपश्चिमका संस्थापक प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन
कैलाली, १३ जेठ । सुदूरपश्चिम प्रदेशका संस्थापक प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।
प्रमुख मल्लको कोरोना संक्रमणबाट बुधबार राति निधन भएको उनका पूर्वस्वकीय सचिव धनसिंह क्षेत्रीले बताए। “कोरोना संक्रमण भएपछि काठमाडौंमा उपचार गराइरहनु भएको थियो, हिजो राति निधन भयो,” क्षेत्रीले भने।
कैलालीको भजनीका मल्ल काठमाडौंस्थित निदान अस्पतालमा उपचाररत थिए। उपचारका क्रममै बुधबार राति ११ बजे निधन भएको हो।
उनी मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए। कोरोना संक्रमणपछि निमोनिया पनि देखिएको जनाएको छ।
उनी सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिशमा उनी प्रदेश प्रमुख भएका थिए।
उनलाई ३ माघ, २०७४ मा प्रदेश प्रमुख नियुक्त गरिएको थियो। उनी १८ असोज २०७६ मा पदमुक्त भएका थिए।













