कैलालीमा जारी निषेधाज्ञा थप कडा
धनगढी,१२ जेठ । कैलालीमा जारी निषेधाज्ञा थप कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरे सगै थप कडाई गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
जिल्लामा जारी निषेधाज्ञा ५ पटक थप गरिएको हो । यहाँ कोरोनाको संक्रमणदर कम नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो । वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि ६ गते र जेठ ७ देखि १३ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो।
स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सामान ढुवानीका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।
जिल्लामा कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी गर्न पूर्ण रुपमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बढीमा सात जनाको सहभागितामा विवाह, ब्रतबन्ध गर्न पाउने, धार्मिक तथा सांस्कृतिक गतिविधि भने गर्न पाइनेछ ।













