काठमडौंमा २० जेठसम्म निषेधाज्ञा थप्ने, अब खाद्यान्न पसल पनि बन्द
काठमाडौं, ११ जेठ । कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञामा अब खाद्यान्न पसल पनि बन्द गरिने भएको छ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
बैठकपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा आदेशमा पहिलेको भन्दा कडाइ गरिएको छ। अब खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टारलगायतका अन्य पसलहरू पनि बन्द गरिने भएको छ। यसअघि खाद्यान्न तथा किराना पसललाई बिहान १० बजेसम्म खोल्न दिइएको थियो।
अब तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरू पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ।
यस्तै, सार्वजनिक तथा निजी विकास निर्माणका कार्य पनि रोकिने भएको छ। यसका लागि सामग्री ढुवानीमा पनि रोक लगाइएको छ। यसअघि विकास निर्माणका कार्य गर्न दिइएको थियो।













