देशभर दुई हजार २४० संंक्रिमत आईसीयू र भेन्टिलेटरमा

काठमाडौं, ७ जेठ । आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबारसम्म दुई हजार २४० जनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, एक हजार ७४८ जना आईसीयू र ४९२ जना भेन्टिलेटरमा उपचाररत छन्। यो अघिल्लो दिनको तुलनामा २४१ ले बढी हो।

आईसीयू र भेन्टिलेटरमा रहेका संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा ९४० जना आईसीयूमा र ३१४ जना भेन्टिलेटरमा रहेका छन्।

त्यस्तै, प्रदेश १ मा १९१ जना आईसीयूमा छन् भने ५६ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा आईसीयूमा २२५ र भेन्टिलेटरमा ५१ जना, गण्डकीमा आईसीयूमा १३३ र भेन्टिलेटरमा ३६ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या लुम्बिनी प्रदेशमा पनि बढ्दै गएको छ। आज १५३ जनाको आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कर्णाली प्रदेशमा ५९ जनालाई आईसीयू र ८ जनालाई भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४७ जनालाई आईसीयूमा र १२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

सक्रिय संक्रमितको संख्या बढेसँगै गम्भीर संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले ७ हजार ८१४ जना अस्पतालमा रहेका छन्।

अहिले देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ जना रहेका छन्। उनीहरूमध्ये एक लाख ८ हजार ३८ जना होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, बुधबारसम्म चार लाख ४८ हजार ६४५ जनामा संक्रमण देखिएको छ। उनीहरूमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ। संक्रमित भएकामध्ये तीन लाख ६६ हजार ९४६ जना निको भइसकेका छन्। (हिमालखबरबाट) ।