महाकाली अस्पतालमा स्वास्थ्य सेवा विभागबाट १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुर, ४ जेठ । कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।

कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले बताए।

हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको बताउँदै उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ।”

“युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौँ”, डा श्रेष्ठले भने, “अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ।”

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना सङ्क्रमणको दोस्रो लहरमा कञ्चनपुरमा पुरुष तथा महिला गरी ११५ जनाले ज्यान गुमाइसकेको जनाएको छ। कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लाभर हाल पाँच हजारभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए।

“एन्टिजेन र पिसिआर परीक्षणबाट यहाँ पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्”, उनले भने, “एक/दुई दिनयताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर न्यूनरूपमा घटिरहेको देखिन्छ।” तर भारतबाट स्वदेश फर्किने नेपालीहरु गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दिनहुँ कोरोना परीक्षण भइरहेको छ।

अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचारले शय्या भरिभराउ छ।