सेतीमा संक्रमितको चाप बढ्दै, अक्सिजनको लागि आफन्तको लाईन
धनगढी, २ जेठ । सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएको छ । प्राय धेरै विरामीलाई अक्सिजनको समस्या देखिएकोले विरामीहरु वेडमै अक्सिजनको लागि छलपछाई रहेको दृष्य देखिन्छ । कोरोना अस्थायी अस्पतालको ६० शैयाले संक्रमितको चाप धान्न नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पतालले सर्जिकल वार्डमा पनि संक्रमित राख्न थालेको छ ।
सर्जिकल वार्डमा ३५ जना संक्रमित राख्न सक्ने व्यवस्था गरिएको छ, तर त्यसले पनि संक्रमितको चाप धान्न सकेको छैन । सेतीमा अहिले एक सय आठजना संक्रमित विरामी उपचाररत छन् ।
कोरोनाको लक्षण भएका शंकास्पद बिरामीको चाप उस्तै छ । उपचारका लागि आउने संक्रमित र शंकास्पद बिरामी बढेपछि अस्पलातको बरन्डा, ग्यालरी र बाहिर रुखको फेद मुनिसमेत राखिएको छ । अस्पतालको पूर्वाधार र जनशक्तिले धान्न नसक्ने गरी अस्पतालमा चाप बढेको हो ।
संक्रमितको चापसंगै अक्सिजनको माग पनि बढेको छ, तर यसको आपूर्ति भने बढेको छैन । संक्रमितलाई औषधी भन्दा अक्सिजनको बढी खाँचो छ । अक्सिजनको लागि विरामीका आफन्त रात दिन लाईनमै बस्न बाध्य छन् ।
सेतीमा अहिले दैनिक दुई सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर, मुस्किलले एक सय २० वटा सिलिन्डर आपूर्ति भइरहेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
आइसियू र भेन्टिलेटरमा भर्ना भएका बिरामीलाईसमेत अक्सिजन पु¥याउन अस्पताललाई हम्मेहम्मे परेको छ । संक्रमित र शंकास्पद सबैजसो बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको चिकित्सकले बताए ।
सेतीको प्लान्टमा दैनिक ५०–६० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । केही सिलिन्डर अक्सिजन धनगढीको मालिका अक्सिजन ग्यास उद्योग र नेपालगन्जबाट आउने गर्छ ।
कतिपय संघसंस्थाले पनि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने गरेका छन् । यसले पनि अस्पतालको माग धान्न सकेको छैन । अक्सिजन सकिएपछि थप आपूर्ति नहुन्जेल उपचाररत बिरामीले अक्सिजनको पर्खाइमा नै हुन्छन् ।
‘अक्सिजन सकिएपछि थप नआउन्जेलसम्म बिरामीले अक्सिजन सपोर्टविनै बस्नुपर्छ ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘माग र आपूर्तिमा सन्तुलन नहुँदा समस्या भएको छ ।’
बिरामीको अवस्थाअनुसार अक्सिजन वितरणलाई प्राथमिकता दिने गरेकाले अक्सिजन नपाएर बिरामीको मृत्यु भएको अवस्था अहिलेसम्म नआएको श्रेष्ठको दाबी छ । संक्रमितको मृत्यु हुनुको मुख्य कारण समयमा अस्पताल नल्याइनु हो ।
सेतीमा जस्तै यहाँका अन्य अस्पतालमा पनि अक्सिजनको चरम अभाव छ । अक्सिन नहुँदा कतिपय निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् ।
कतिपयले भर्ना भएका बिरामीलाई पनि रिफर गर्न थालेका छन् । अक्सिजन अभावले निजी अस्पतालमा पनि उपचार पाउने अवस्था नआएपछि सरकारी अस्पतालमा संक्रमितको चाप बढेको हो ।
कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले अक्सिजन नहुँदा भर्ना हुन आउने संक्रमितलाई फिर्ता गर्नुपर्ने अवस्था आएको बताए । भर्ना भएका संक्रमितलाई समेत अक्सिजन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
अक्सिजन सकिएपछि कतिपय निजी अस्पतालले उपचाररत संक्रमितलाई पनि रिफर गर्न थालेका छन् । धनगढीकै मायामेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले उपरचाररतले समेत अक्सिजन नपाएका वेला थप बिरामी भर्ना गर्न नसकिने बताए ।
कतिपय संक्रमित बेड नपाएर पनि आउने गरेकाले भर्नाअघि ‘अक्सिजन दिन सक्दैनौँ भनेर, आफै जोहो गर्नू’ भनी जानकारी दिने गरेको उनले बताए ।













