सुदूरपश्चिममा मुख्यमन्त्रीका सम्भावित दावेदार को को हुन् ?
कैलाली, ३१ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक किसिमको सहमति बनेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भए। यसको सीधा असर प्रदेश सरकारहरूमा देखिने भएको छ।
ओली र नेपाल पक्ष एक ठाउँमा आएपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ । जस कारण सुर्दरपश्चिममा एमालेका हाल मुख्य सचेतक रहेका तारा लामा तामाङ या आन्तरिक मामिलामन्त्री समेत रहेका संसदिय दलका नेता प्रकाश शाह मुख्यमन्त्री बन्ने सम्भावना छ ।
जनजाती पृष्ठभुमि र प्रदेशमै सिनियर नेतामध्ये पर्ने भएकाले तामाङको सम्भावना बढी छ । उनि यसअघि कंचनपुरको एमालेको निर्वाचित जिल्ला अध्यक्ष समेत हुन ।
तामाङ यो बीचमा मध्यमार्गी भुमिकामा थिए । उनले एमालेको एकतामा जोड दिंदै आएका थिए । त्यसैकारण उनलाई एमाले उपाध्यक्ष भिम रावलले प्रदेशसभामा मन्त्रीका रुपमा समेत सिफारीस गरेनन । यद्यपी तामाङ पनि रावल निकट सांसद नै हुन ।
शाह करिव ३ वर्ष मन्त्री भइसकेकाले उनको सम्भावना भने अलि कम देखिन्छ । मुख्यमन्त्रीको लागि दिर्घ सोडारी समेत दौडमा छन् । एमालेका उपाध्यक्ष भिम रावलमाथी अछाम र आफ्ना आफन्तलाई मात्र अवसर दिएको आरोप सुदूरपश्चिममा लाग्ने गरेको छ । ओली पक्षबाट मुख्यमन्त्री बने पठानसिंह बोहराको सम्भावना बढी छ ।
प्रदेशसभामा ओली पक्षका सांसदको संख्या ६ जना र नेपाल पक्षका सांसदको संख्या १८ जना छ । हाल सभामुख रहेका अर्जुन बहादुर थापा पनि नेपाल पक्ष्ँकै हुन । प्रधामन्त्री ओली पक्षका नेता लेखराज भट्ट र कर्णबहादुर थापाले प्रदेश सरकार परिवर्तन गर्न छलफल चलाइरहेका बेला एमालेमा दुवै पक्षबीच सहमती भएको हो ।
उनिहरुले प्रदेश सभा सदस्य पठानसिंह बोहरालाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर, नेपाल पक्षका सांसदहरु त्यसमा सहमत भएका थिएनन् ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले प्रदेश सरकार अव एमालेको नेतृत्वमा बन्ने बताए । उनले त्यसका लागी चांडै छलफल अघि बढाईने जानकारी दिए । एमाले अध्यक्ष ओली र नेपालबीच सहमती भयो भने सुदूरपश्चिममा मुख्यमन्त्री नेपाल पक्षले लिने सहमती हुने सम्भावना छ ।













