प्रधानमन्त्री केपी शर्मा ओलीले लिए शपथ

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

उनी बिहीबार तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। तीन वर्ष अघि नेकपा (माओवादी केन्द्र)को सहयोगमा झण्डै दुई तिहाइको प्रधानमन्त्री बनेका ओली यस पटक भने अल्पमतको प्रधानमन्त्री बनेका हुन्।

२७ वैशाखमा संसद्मा विश्वासको मत गुमाएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

राष्ट्रिपतिले दिएको तीन दिनको समयमा कुनै पनि सांसदले दाबी पेश नगरेपछि ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। अब उनले ३० दिनभित्र संसद विश्वासको मत लिनुपर्नेछ।