फेरि ओली नै प्रधानमन्त्री

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् ।

ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेबी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा गठबन्धनको सरकार बनाउन दाबी पेश गर्न आज राति ९ बजेसम्मको समय दिएकी थिइन्। तर, राष्ट्रपतिले दिएको समय सीमामा कुनै पनि दलले बहुमत पुर्‍याउन सक्ने आधारसहित राष्ट्रपति कार्यालय शीतल निवासमा दाबी गर्न नसकेपछि ओली ठूलो दलको नेताको रूपमा प्रधानमन्त्री नियुक्त हुन लागेका हुन्।

संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्न नसकेमा वा त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्रमा सभाबाट बहुमत पाउन नसकेमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

यसरी नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ।

१२१ सांसद भएको एमालेलाई जसपाको महन्थ–राजेन्द्र पक्षले साथ दिए बहुमत त पुग्नसक्छ । तर पार्टी कार्यकारिणी समितिमा महन्थ–राजेन्द्रको बहुमत छैन र, उनीहरुले विश्वासको मत लिने प्रक्रियामा पनि ओलीलाई मत दिएका थिएनन् । यो पक्षका १५ सांसद तटस्थ बसेका थिए ।